झापा । 

प्रेस काउन्सिल नेपालले निर्वाचन र मतदातालाई प्रभाव पार्ने खालका समाचार प्रशारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ । पछिल्लो समय केही सञ्चार माध्यमबाट निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट ‘चुनावी विश्लेषण’, ’विशेष रिपोर्ट’, ’सर्वेक्षण’ भनेर मत सर्वेक्षणको शैलीमा राजनीतिक दल र उम्मेदवारको नाम नै किटान भएका समाचार बाहिरिदै गएको भन्दै निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । 

यी उम्मेद्वारले ’जित्नेछन्’, ’यो उम्मेदवार त्यो भन्दा धेरै अगाडि’, ’नयाँतिर आकर्षित’, यसको लहर छ, यसको छैन’, ’डेन्जर जोनमा’ भनेर नागरिकको मनोभावनालाई असर पार्ने, आम मतदाता दिग्भ्रमित हुने र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण भएको भन्दै काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता सामग्रीले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई काउन्सिलले नोटिसमा राखेको एक सूचना जारी गर्दै सचेत गराएको छ । 

स्रोतको संरक्षण नहुने र मतदाताको गोपनियता भङ्ग हुने किसिमबाट सामग्री सम्प्रेषण गर्दा व्यक्तिको सुरक्षा चुनौतीसमेत हुने भएकाले सञ्चार माध्यमको स्वस्थ, स्वच्छ, स्वतन्त्र, सन्तुलित, निष्पक्ष र विश्वसनीय भूमिकामाथि प्रश्नचिन्ह खडा हुनेसमेत सूचनामा उल्लेख छ । 

काउन्सिल आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार/सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्वद्ध सबैमा सबैमा त्यस्ता प्रकारका सामाग्री प्रकाशनप्रसारण नगर्न आग्रह गर्दै आएको सह–प्रशासकीय अधिकृत (सहप्रवक्ता/सूचना अधिकारी) रामशरण बोहराद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

press cauncil (2)