झापा । 

सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी चुुनौतीका रूपमा हेरिएको सुरक्षा व्यवस्था पूर्णरूपमा व्यवस्थित र चुस्त बनाएको दाबी गरेको छ । एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर आज (बुधबार) बाट नेपाली सेनालाई फिल्डमा खटिँदै छ । त्यस्तै, सबै सुरक्षा अंगको समन्वय र सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निर्वाचन प्रहरी परिचालन गरिँदै छ । 

निर्वाचनमा मतदान गर्ने समय एक महिना बाँकी रहँदा सुरक्षाका सबै संयन्त्र चुस्त रूपमा तयार गरिएको गृह मन्त्रालयले जनाएको छ ।  सोहीअनुसार आजबाटै नेपाली सेना फिल्डमा निस्किने साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन (म्यादी) प्रहरी परिचालनको काम सम्बन्धित निकायले गरेका छन् । 

निर्वाचनको एक महिना दिनअघिबाटै सेना परिचालन गर्ने सुरक्षा योजनाअनुसार सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ ।  हाल सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिने तयारी छ । 

एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी ३ लाख ३७ हजार ७ सय ८८ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । जसमा ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ४ सय ७३ जना नेपाल प्रहरी, ३४ हजार ५ सय ७६ सशस्त्र प्रहरी र १ हजार ९ सय २१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिनेछन् । नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३० हजार ९ सय ८० जना र  सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार १ सय १० निर्वाचन प्रहरी परिचालन हुनेछन् । उनीहरूको तालिम सुरु भइसकेको छ । निर्वाचनका लागि पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी र प्रहरीको सहयोगीका रूपमा निर्वाचन प्रहरी खटिनेछन् । त्यस्तै, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिर सुरक्षा घेरामा नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।  

देशभर ३ हजार ६ सय ८० अति संवेदनशीलसहित २३ हजार १ सय १२ मतदान केन्द्र छन् । ती मतदान केन्द्रमा नेपाल प्रहरीले भित्री घेराको सुरक्षा गर्नेछ । सीमा क्षेत्रमा विशेष निगरानी गर्ने, विस्फोटक पदार्थ भित्रिन नदिन साथै उम्मेदवारको सुरक्षा व्यवस्थाका लागि चुस्त व्यवस्थापन  बनाइएको छ ।   

निर्वाचन सुरक्षार्थ आवश्यक सवारी, इन्धनलगायतका काममा सरकारले रकमको अभाव हुन नदिन बजेट निकासा गरिसकेको गृह मन्त्रालयले जनाएको छ । जसका लागि नेपाल प्रहरीलाई १ अर्ब ५४ करोड ३३ लाख ९८ हजार ७ सय ५० बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीलाई ६५ करोड २५ लाख ३४ हजार र गुप्तचरलाई ५ करोड ६५ लाख सुनिश्चित गरेर आवश्यक व्यवस्थापनको काम गर्दै आएको छ । निर्वाचन प्रहरी (म्यादी) का लागि नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड २५ लाख ८९ हजार र सशस्त्र प्रहरी मातहत रहने निर्वाचन प्रहरीका लागि ८० करोड ८४ लाख ५३ हजार रुपैयाँ छुट्याइएको छ । 

यसैगरी चुनावी सुरक्षाको महत्वपूर्ण चुनौतीका रूपमा रहेको साइबरमार्फत हुने गलत प्रचारप्रसारलाई न्यूनीकरण गर्न प्रहरीले यूएनडिपीको सहयोगमा एआई सफ्टवेयरको उपयोग गर्दै आएको छ ।