बिर्तामोड ।
झापाको बिर्तामोड–४ को गोपीकृष्ण स्मृति प्रतिष्ठानले समाजसेवा बिधाको गोपीकृष्ण स्मृति पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले आज (शनिवार) बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी क्याम्पसमा स्वर्गीय गोपीकृष्ण खनालको ७९ औं जन्मजयन्तीको अवसर पारेर समाजसेवा बिधाको पुरस्कार वितरण गरेको हो ।
प्रत्येक २ बर्षमा एउटा बिधाको पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानले यस बर्ष समाजसेवा बिधाको पुरस्कार वितरण गरेको र यस अघि पत्रकारिता र साहित्यको पुरस्कार बितरण गरिसकेको प्रतिष्ठानका सचिव तीर्थ सिग्देलले जानकारी दिए । सचिव सिग्देलका अनुसार यसअघि पत्रकारिता पुरस्कार पत्रकार नकुलकाजी र साहित्य पुरस्कार साहित्यकार कोमलप्रसाद सिग्देललाई प्रदान गरिएको थियो ।

यस बर्ष समाजसेवा बिधा पुरस्कारबाट खिलप्रसाद शिवाकोटी पुरस्कृत भएका छन् । प्रतिष्ठानकी उपाध्यक्ष सरु खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, प्रतिष्ठानकी संरक्षक रुपादेवी खनालले शिवाकोटीलाई पुरस्कृत गरेका थिए । शिवाकोटीलाई नगद ५० हजार पाँच रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश प्रतिष्ठानका सचिव तीर्थ सिग्देलले गरेको कार्यक्रममा प्रमुख अतिथि बस्नेत, सम्मानीत ब्यक्तित्व शिवाकोटी, साहित्यकार पे्रमप्रकाश फलारी पोखरेल, साहित्यकार केशव आचार्यलगायतले शुभकामना मन्तव्य राख्दै स्वर्गीय खनालले पत्रकारिता र साहित्यबाट समाजमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन डाक्टर पुन्यप्रसाद सिग्देलले गरेका थिए ।
कार्यक्रममा स्वर्गीय खनालका समकालिन मिमलाल सापकोटा, साहित्य चौतारी झापा बिर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठ, साहित्यकार हरिनारायण भट्टराईसहित समाजसेवी, शिक्षासेवी, साहित्यकारलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा श्रष्ठाहरुले कबिता र गजलसमेत प्रस्तुत गरेका थिए ।


















