झापा ।
बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी व्यवसायी समुदायको हित र एकताको सन्देशसँग जोड्दै संघको ‘व्यवसायी सदस्य राहत कोष’का लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन्।
संघको कार्यालयमा आयोजित संक्षिप्त तर अर्थपूर्ण कार्यक्रममा भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरे। आपत्–विपद्, आकस्मिक दुर्घटना वा असहज परिस्थितिमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कोषलाई व्यवसायीहरूकै साझा सुरक्षा कवचका रूपमा विकास गर्ने लक्ष्य लिइएको संघले जनाएको छ।
संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषलाई एक करोड रुपैयाँसम्म पुर्याउने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि व्यवसायीहरूको एकता र निरन्तर सहयोग अपरिहार्य रहेको बताए। “यो कोष कुनै व्यक्ति वा कार्यसमितिको मात्र होइन, सम्पूर्ण व्यवसायीको हो,” उनले भने, “यसअघि पनि धेरै दाताहरूले उत्साहजनक सहयोग गर्नुभएको छ। आगामी दिनमा अझ व्यापक सहभागिताको अपेक्षा गरेका छौं।”
कोष वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संघले पूर्व अध्यक्ष भट्टराईलाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ। व्यवसायी हितका सवालमा सधैं सक्रिय रहँदै आएका भट्टराईको यस योगदानलाई व्यवसायी समुदायले सकारात्मक उदाहरणका रूपमा लिएको छ।
कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईसहित विभिन्न क्षेत्रका व्यवसायीहरूको उपस्थिति थियो। सहभागीहरूले राहत कोषलाई मजबुत बनाउँदै व्यवसायीहरूलाई कठिन समयमा साथ दिनु नै संघको मुख्य दायित्व भएको धारणा व्यक्त गरे। कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए।


















