• अभिषेक खतिवडा 

हल्दीबारी ।

झापाको हल्दीबारी गाउँपालिकास्थित अधिकारी चोक पछिल्लो समय बढ्दो सडक दुर्घटनाको दृष्टिले अत्यन्त संवेदनशील बन्दै गएपछि स्थानीयस्तरबाट त्यसको नियन्त्रणका लागि संगठित र दबाबमूलक नागरिक पहल अघि बढाइएको छ। 

जोखिमयुक्त अवस्थालाई बेवास्ता गर्न नसकिने निष्कर्षसहित विभिन्न सामाजिक तथा संस्थागत समूहहरू एकजुट भई सम्बन्धित वडामा औपचारिक माग प्रस्तुत गरिएको हो।

सवारीसाधनको अत्यधिक गति, भारी ट्रक तथा ट्याक्टरको अव्यवस्थित सञ्चालनका कारण दैनिक यात्रु र स्थानीय बासिन्दाको जीवन जोखिममा परेपछि स्थानीय समुदाय, युवा समूह, सामाजिक अभियन्ता, राजनीतिक प्रतिनिधि, वन समितिका पदाधिकारी, व्यवसायी तथा यात्रुहरूको संयुक्त हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाइएको छ।

ढडुवा युवा क्लबका सचिव तथा सामाजिक अभियन्ता अभिषेक खतिवडाका अनुसार ‘अब पर्खने अवस्था रहेन, दुर्घटनाको आशङ्का होइन, प्रत्यक्ष खतरा बनिसकेको छ — त्यसैले नागरिकहरू आफै अघि बढेका हुन्।’

उक्त मागपत्र वडा नं–४ का अध्यक्ष सन्त कुमार थापा मगर र वडा नं–५ का अध्यक्ष खड्ग लावतीलाई बुझाइएको हो। वडाध्यक्षद्वयले नागरिकस्तरबाट आएको गम्भीर सरोकारलाई जिम्मेवारीका साथ ग्रहण गर्दै आवश्यक पूर्वाधार निर्माण र प्रक्रिया छिटो अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी जलथल, ढडुवा युवा क्लब, जेसिज हल्दिबारी, महेन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाज, हरियाली तथा शान्ति सामुदायिक वनसहित दर्जनौँ संघसंस्थाको सहभागिताले यस पहललाई सामूहिक आन्दोलनको स्वरूप दिएको छ।

यस अभियानले हल्दीबारीमा नागरिक सचेतना मात्र होइन, स्थानीय शासनप्रति उत्तरदायी दबाब निर्माणको नयाँ अभ्यास स्थापित गरेको सहभागीहरूको भनाइ छ। कार्यक्रममा बलराम गिरी, भरत ढकाल, बिरेन पराजुली लगायत स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।