झापा ।
सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको ‘एकका लागि एक अभियान’ ले विपद्का बेला सहयोग र समन्वय गर्ने दातालाई सम्मान गरेको छ । जिल्लामा क्रियाशील रहेका विभिन्न संघ संस्थासहित सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ४४ वढी संघसंस्थाका प्रमुख तथा प्रतिनिधलाई एकैसाथ अभियानले सम्मान गरेको हो ।
बिर्तामोडमा आज (आइतवार) आयोजित समारोहकाबीच अभियानको हिसाव सार्वजनिक गर्दै तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई बिशेष सम्मानसहित ४४ संघसंस्थालाई सम्मान गरिएको छ ।
काभ्रेपलान्चोकमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।
गत गत असोज १८ र १९ गते अविरल वर्षापछि झापा र इलाममा वाढी पहिरोबाट ठूलो जनधनको क्षतिमा अभियानका माध्यमबाट सहयोग उपलब्ध गराउने संघ संस्थासहित दाताहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
वाढी पहिरोमा डुवानबाट पाँच हजार ५ सय परिवारका २५ हजार भन्दा वढी मानिस विस्थापित भएका थिए । सो समयमा अभियान अन्तरगत जिल्ला विपद् व्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको आग्रहमा वाढी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार र राहत उपलब्ध गराउन एकका लागि एक अभियान सक्रिया भएको थियो ।
अभियानको अगुवाई तथा समन्वयमा २ हजार परिवारलाई प्रति परिवार तीन हजारदेखि तीन हजार ५ सय रुपैयाँ बरावरको खाद्य तथा गैर खाद्य सामग्रीको प्याकेट तयार गरी बितरण गरिएको थियो । जसमा झापा – इलाममा एक सय परिवारलाई राहत प्रदान गरिएको थियो ।
त्यस्तै सात सय परिवारका लागि विभिन्न दाताहरुको सहयोगमा सरसफाई सामग्रीसहित पाँच सय प्याकेट हाइजिन किट, तीन सय थान सेन्टर किट र २ सय थान व्लाङ्केट वितरण गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । उनका अनुसार प्रभावितहरुलाई एकद्वार प्रणालीबाट एकै प्रकृतिका सामग्री अभियानले जिल्ला विपद् व्यवस्थापन समितिलाई सहयोग गरेको थियो ।
अभियानले सामग्री जुटाएर तयार गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्रण गर्ने, समितिले स्थानीय सरकारसँगको समन्वयमा राहत वितरण व्यवस्थित रुपमा सम्पन्न गरेकोे थियो ।
कार्यक्रममा अभियानका संयोजक गिरीले अभियान स्थापनादेखि हालसम्म अभियानमा संकलित रकमको आयव्यय सार्वजनिक गर्दै वाढी र पहिरोमा अभियानले संकलन गरेको आर्थिक तथा जेन्सी सामग्रीको विवरण पनि प्रस्तुतगरेका थिए । उनले वाढी र पहिरोमा अभियानले ६ लाख रुपैयाँ दिएर शुरु गरेको अभियानमा २५ लाख ८५ हजार ९५० रुपैयाँ जम्मा र जेन्सी सामाग्री उपलब्ध भएको र त्यो पिडीतहरुलाई वितरण गरिएको विवरण सार्वजनिक गरेका छन् ।
अभियानका संयोजक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अभियानका सदस्य लीला चिमरियाले गरेका थिए भने सहजीकरण अभियान सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झापाका गेलाल, सम्मानित ब्यक्तित्वका तर्फबाट झापा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
२०७७ साल बैशाख १९ गते स्थापना भएको अभियानले कोभिड महामारी, कोभिड दोस्रो लहरको अभियानमा पीडितलाई उल्लेख्य सहयोग गरेको थियो । कोभिडका समयमा अभियानले पहिलो चरणमा विपन्न परिवारलाई राहत बितरण तथा खाना खुवाउने कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, प्लाज्मा वैक स्थापनामा सहयोग, स्वास्थ्य सामग्री सहयोग, पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरेको थियो ।
त्यस्तै कोभिडको दोस्रो चरणमा अक्सिजन वैंकको स्थापना, वाढी पीडितलाई स्वास्थ्य सामग्री सहयोग, अक्षयकोष स्थापना, प्रहरी कार्यालय पुनः स्थापनामा १० लाख आर्थिक सहयोग, बाढी पहिरो पीडित दुई हजार परिवारलाई राहत लगायतका कार्य गरेको थियो ।
अभियानलाई अझ मजवुत बनाउने उद्देश्यले पाँच करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको बताउँदै संयोजक गिरीले हाल अभियानको कोषमा एक करोड रहेको जानकारी दिए ।
















