बिर्तामोड ।

झापाको बिर्तामोड निवासी युवा व्यवसायी तथा गायत्री मन्दिरका निर्वतमान अध्यक्ष रौनक वंशल अग्रसेन भवन बिर्तामोडको कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

 अग्रसेन भवन बिर्तामोडका अध्यक्ष रमेश अग्रवालले संस्थाको विधानअनुसार वंशललाई कार्यसमितिमा मनोनयन गरेका हुन् । 

विभिन्न सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका वंशल झापामा आफूलाई स्थापित युवा व्यवसायीका रुपमा उभ्याउन सफल भएका छन् । 

सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएका वंशलको कार्यसमितिमा आगमनले अग्रसेन भवनका गतिविधि थप सशक्त र प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

अग्रसेन भवन बिर्तामोडले पछिल्लो समय सामाजिक एकता, धार्मिक कार्यक्रम, सांस्कृतिक संरक्षण तथा समुदाय केन्द्रित गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस्ता संस्थागत गतिविधिमा अनुभवी र सक्रिय व्यक्तित्वको सहभागिताले संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने अध्यक्ष अग्रवालले बताए ।

नवनियुक्त कार्यसमिति सदस्य वंशलले अग्रसेन भवनमार्फत समाजसेवाका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामूहिक प्रयासबाट सामाजिक सद्भाव, धार्मिक चेतना र सांस्कृतिक पहिचानको संरक्षणमा अग्रसेन भवनले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने बताए।

अग्रसेन भवन बिर्तामोड उद्योगी, व्यवसायी तथा समाजसेवीहरूको साझा थलोका रूपमा परिचित छ । संस्थाले धार्मिक अनुष्ठान, सामाजिक सहयोग, आपतकालीन राहत, सांस्कृतिक कार्यक्रम तथा समुदाय विकासका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।