झापा । 

गएराति ९ः१० बजे झापाको चन्द्रगढी विमानस्थलमा विमान दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंवाट भद्रपुरको लागि ५१ जना यात्रु र ४ जना चालक दलसहित उडेको एटीआर ७२ बुद्ध ९०१ विमान अवतरण गर्ने क्रममा विमानस्थल रनवे पिचबाट ३सय मिटर पूर्वपट्टि भासिएर दुर्घटना भएको थियो । 

दुर्घटनामा ७ जना घाइते भएका थिए । घाइते हुने यात्रुमा भद्रपुर–१० का ४० बर्षीय सबिन जोगी छाती, कम्मर, ढाड दुखेको, बाहिरी चोट नदेखिएको, अवस्था सामान्य, बिर्तामोड–७ कि २० बर्षीया प्रेसिषा अधिकारी बायाँ खुट्टा सुन्निएको, बाहिरी चोट नदेखिएको, अवस्था सामान्य, बिर्तामोड–१  की ४२ बर्षीया सुमित्रा जोगी बायाँ खुट्टा दुखिरहेको, बाहिरी चोट नदेखिएको, अवस्था सामान्य, दमक–१  का २८ बर्षीय कमलप्रसाद कटुवाल दाहिने खुट्टामा सामान्य चोट  छन् । 

यसैगरी काठमाडौं महानगरपालिका–१६ की ४० बर्षीया मुना घतानी बाहिरी चोट नभएको टाउको दुखिरहेको, चक्कर लागिरहेको अवस्था सामान्य, सोही स्थानकी  १६ बर्षिया प्रिया घतानी दाहिने घुँडामा चोट अवस्था सामान्य रहेको र पाइलट ललितपुर महानगरपालिका–४ का २४ बर्षीय सुशान्त श्रेष्ठ अनुहार र टाउकोमा चोट अवस्था सामान्य रहेको बताइएको छ । 

घाइतेमध्ये भद्रपुर १० का सबिनको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको र अन्य डिस्चार्ज भई फर्किसकेको प्रहरीले जनाएको छ ।बुद्ध एयरको विमान दुर्घटना भएको चन्द्रगढी विमानस्थललाई सुचारु राख्न तयारी थालिएको छ ।