बिर्तामोड । 

भीमवहादुर कार्कीको बिर्तामोड–१ मा दर्ता कायम रहेको ५ बिगाहा ६ कठ्ठा १० धुर जमिन स्थानीय कुडानु राजवंशीले खेती गरे । लामो समयसम्म कुडानु राजवंशीले कार्कीको जग्गा जोतभोग गरेपछि तत्कालीन समय अनुसार राजवंशीको नाममा मोहीयानी हक कायम भयो । तीन बिगाहा जमिनमा राजवंशी परिवारले मोही हक दावी गरेपनि एक बिगाहा जमिन मात्रै कायम भयो । 

जग्गाधनी भीमवहादुर कार्कीको छोरा वर्ष ६१ को नरवहादुर  कार्कीको नाममा सो जग्गाको श्रेष्ता कायम गरियो । यता कुडानु राजवंशीको पनि निधन हुनु अघि नै उनकी श्रीमती जानाकी राजवंशीको नाममा महियानी हकको श्रेष्ता सारिएको थियो । 

लामो समयसम्म जमिनको भोकचलन गर्दै आएका कुडानुको २०३७ सालमा नै निधन भएपछि सो जग्गा उनकी श्रीमती जानाकीले भोकचलन गरिन् । श्रीमानको निधन, देवरहरु स–सानै भएका कारण केही समय सो जग्गा उनले कमाउन सकिनन् । त्यसको केही  समयपछि  जानाकीका देवर सुरनलाल राजवंशीले सो जमिन कमाएका थिए । 

तर, उनलाई सो जमिन कमाउन कार्की परिवारले नै नदिएपछि केही समय उक्त जमिन बाझिएको थियो । तत्कालीन चारपाने–१ को साविक किता नं। १७ भई हाल कायम किता नं। २०४८९ को जग्गामा २०२१ सालको दर्तावाला मोही मेरापति कुडानु राजवंशीको भएको भन्दै भुमिसुधार कार्यालयबाट २०३८ सालमा जानाकी राजवंशीको नाममा बाडफाँड भएको भन्दै भुमिसुधार कार्यालय झापामा आफ्नो जग्गा छुट्याउन भन्दै राजवंशीले निवेदन दिइन् । सोही निवेदनका आधारमा भुमिसुधार तथा मालपोत कार्यालय झापाले राजवंशीको पक्षमा फैसला गर्दै जग्गा दिलाएको थियो । 

आफ्नो नाममा जग्गा आएपछि उनले बाटोसहित ५ कठ्ठा जग्गा घरायासी प्रयोजन देखाउँदै बिक्री प्रक्रिया अघि बढाइन् । तर, उनको जग्गा बिक्री पश्चात पास गर्ने क्रममा रोकिएपछि राजवंशी परिवार अन्यायमा परेको बताइन्छ । 

जानाकी राजवंशी एक्लै भएपछि उनका भतिजा रामबहादुर राजवंशीले जानाकी राजवंशीको रेखदेख गर्दै आएको बताइएको छ । घर बनाउने प्रयोजनका लागि जग्गा बिक्री गरिएको थियो तर, मालपोत कार्यालयमा आफुहरुलाई नक्कली मोही खडा गरिएको भन्दै असम्बन्धीत ब्यक्तिले धर्ना बसेपछि जग्गा पास हुनबाट आफुहरु बन्चित हुनु परेको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराए । 

जानाकीका भतिजा रामबहादुरले आफुहरुले मोही बापतको एक बिगाहा जग्गा पाएको र त्यसै मध्येबाट ५ कठ्ठा जग्गा बिक्री गर्न खोज्दा समस्या भएको बताए । भूमिसुधार तथा मालपोत कार्यालय झापाले भीमबहादुर कार्कीको छोरा नरबहादुर कार्कीको नाममा कायम रहेको जग्गा मध्ये राजवंशी परिवारले पाउने जग्गा गत मंसीर १५ गते मोही लगत कट्टा गरी उपलब्ध गराएको बताइएको छ । 

सोही जग्गा बेचबिखनको क्रममा समस्या सिर्जना भएपछि राजवंशी परिवार पिडीत भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो ।  यता भुमिसुधार तथा मालपोत कार्यालयमा पुस १५ गते मंगलबारदेखिनै नक्कली मोही खडा गरी जग्गा धनीलाई थाहै नदिई जग्गा बिक्री गरेको आरोप लगाउँदै केही ब्यक्ति कार्यालयको मुल गेटमा धर्ना बसेका छन् । 

बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा धर्ना बसेको बताइएको छ । यता राजवंशी परिवारले आफुहरुलाई डर, धम्की र त्रास देखाएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा जीउ ज्यानको सुरक्षाका लागि निवेदन दिएका छन् ।