झापा । 

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमक झापाबाट आन्दोलनकारीले लुटेका हतियार फेला परेको छ । आज (आइतवार) बिहान ६ः३० बजेको समयमा हतियार फेला परेको हो । 

झापाको कमल गाउँपालिका–५ धनप्रसाद मार्गस्थित गेउरीय खोलाको किनारमा बेवारिसे अवस्थामा हतियार रहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापा प्रहरी टोली गएको थियो । 

उक्त स्थानबाट २३८१६९ नम्बरको ग्यासगन थान १ खिया लागेको बट नालसहित जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

सो हतियार  गत भदौं २४ गते  जेनजीआन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमक झापाबाट आन्दोलनकारीहरुले लुटपाट गरी लगेको अभिलेखबाट देखिएको बताइएको छ । हतियार रितपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।