झापा ।
जेनजी आन्दोलनका क्रममा लुटिएका ठूलो परिमाणमा हतियार र गोलीगठ्ठा फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकबाट गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोलीगठ्ठा शुक्रवार साँझ ५ बजे दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा फेला परेको हो । उक्त हतियार र गोलीगठ्ठा स्थानीयले देखेर इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएका थिए ।
फेला परेका हतियार तथा गोलीगठ्ठामा म्याग्जिनसहितको ३११०३३६१ नम्बर भएको ईन्सास थान–१, म्याग्जिनसहितको ३११०३३६४ नम्बर भएको ईन्सास थान–१, म्याग्जिन नभएको ३११०३५१२ नम्बर भएको ईन्सास थान–१, ३०३ को जंगी राउण्ड थान–१३४, एसएलआरको जंगी राउण्ड थान–५ र ईन्सासको जंगी राउण्ड थान–२० रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकको टोली गएर हेर्दा ती हतियार तथा गोलीगठ्ठा खिया लागेको अवस्थामा फेला परेको थियो । ती हतियारहरु जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनकारीहरुले लुटपाट गरी लगेको अभिलेखबाट देखिएको छ । ती हतियार तथा गोलीगठ्ठाहरु बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















