हल्दीवारी । 

झापाको हल्दीबारीमा नव निर्मित कालोपत्रे सडकको नामाकरण भएको छ । पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आज (बुधवार) नव निर्मित कालोपत्रे सडकको नामाकरण गरेका हुन् । 

राप्रपा अध्यक्ष लिङ्देनले हल्दीबारी गाउँपालिकामा नवनिर्मित २ हजार ३३० मिटर लामो र ५.५ मिटर चौडाई कालोपत्रे सडकको नामाकरण गरेका छन् । विशेष समारोहबीच लिङ्देनले हल्दीबारी–१ स्थित ओमचोकदेखि वडा नम्बर  ५ को धनुषा आधारभूत बिद्यालयसम्म निर्माण सम्पन्न भएको उक्त सडकलाई ’भुल्का मार्ग’ नामाकरण गर्दै औपचारिक उद्घाटन गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका लिङ्देनले कार्यक्रममा सम्बोधन गर्दै जनप्रतिनिधि र कर्मचारी इमान्दार भएर काम गर्दा विकास निर्माणका काम छिटो र सहज रूपमा अघि बढ्ने बताए ।

भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै तहका जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्दै लिङ्देनले आम नागरिकका साना–साना समस्या समेत समयमै समाधान गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन् । उनले आफ्नो निर्देशन अनुसार हल्दीवारीमा विकास तथा आयोजनाहरू समयमै सम्पन्न भएकोप्रति खुसी व्यक्त गरे । उनले अन्य पालिकालाईसमेत प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

हल्दीबारी गाउँपालिका र संघीय सरकारको संयुक्त २ करोड ६५ लाख ४३ हजार ३ सय ८९ रुपैयाँको लागतमा टेन्डर प्रक्रियामार्फत उक्त सडक निर्माण गरिएको हो । पार्वती–अम्बिका ग्लोबल भिमेश्वर जेभीले ५.५ मिटर चौडाइको २.३३ किमी सडक कालोपत्रे गर्नुका साथै गोलधाप बजारदेखि वडा कार्यालयसम्म पुग्ने ३१० मिटर लम्बाइ र ६ मिटर चौडाइको सडकमा पेभर ब्लक बिछ्याउने काम पनि सम्पन्न गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दीवारी–१ का वडाअध्यक्ष देवीबहादुर थापा, नेपाली कांग्रेस हल्दीबारीका कोषाध्यक्ष राजेन्द्र ओलीलगायतले हल्दीबारीमा भएका विकास निर्माणका कामबारे चर्चा गरेका थिए । 

सडक नामकण तथा उद्घाटन कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले पारेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।