झापा । 

जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जना थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको हिरासतमा रहेका थुनुवा गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए । 

लागूऔषध मुद्दामा हिरासतमा रहेका अर्जुनधारा–७ कमलडाँगी घर भई इप्रका अनारमनीको हिरासतमा रहेका अन्दाजी २० बर्षीय बुद्धिप्रसाद चम्लागाई र इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षमा रहेका लागूऔषध मुद्दाका थुनुवा ३४ बर्षीय शुसिलकुमार थापा पक्राउ परेका हुन् । 

प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले चम्लागाईलाई लुकिछिपि बसिरहेको अवस्थामा मंगलबार साँझ ५ः४० बजेको समयमा घर वतनबाट नियन्त्रणमा लिएर इप्रका अनारमनीमा ल्याइएको छ । उनको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी मंगलबार साँझ ५ बजेको समयमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोलीले थापालाई उनकै  घरबाट नियन्त्रणमा लिएर इप्रका दमकमा ल्याएर राखेको छ । उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।