हल्दीवारी ।
झापाको हल्दीवारी गाउँपालिकामा करिव ६० किलो मिटर सडक कालोपत्रे भएको छ । गाउँपालिकाबाट करिव ३५ किलो मिटर र प्रदेशबाट २५ किलो मिटर गरी जम्मा ६० किलो मिटर सडक कालोपत्रे भएको पालिकाले जनाएको छ ।
९५ प्रतिशत सडक मोटरेवल ग्राभेल भएका गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए । वडा कार्यालयबाट गाउँपालिका र सवै वडाबाट प्रदेश तथा संघको लोकमार्गसँग पक्की सडक जोड्ने कार्य अन्तिम चरणमा रहेको बताइएको छ ।
यसैगरी काठेपुल मुक्त अभियान अन्तरगत १२० भन्दा वढी काठ र बाँसका पुललाई विस्थापित गरी स्वाल कल्भर्ट निर्माण भइसकेको पालिकाले जनाएको छ । योजना शाखा प्रमुख न्यौपानेका अनुसार ९५ प्रतिशत योजनाहरु ठेक्का प्रकियाकाट सञ्चालन गरिएका छन् ।
हल्दीवारीका सवै नागरिकहरुलाई मासिक १० हजार लिटर निःशुल्क खानेपानी कार्यक्रम सञ्चालन, ९१ प्रतिशत खानेपानी पाइप लाइन विस्तार, करिव ७५६ गरिव तथा विपन्नहरुको घरमा निःशुल्क धारा जडान गरिएको पालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्दनेले जानकारी दिए । पालिकामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि उल्लेखीय कार्य भएको अध्यक्ष लिङ्देनले बताए ।
पालिकाका सवै बिद्यालयमा कक्षा–१२ सम्म निःशुल्क पढाई, स्थानीय मातृभाषा मेचे भाषाको पुस्तक तयारी तथा एक बिद्यालयमा पढाई सञ्चालन गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
गाउँपालिकालाई पूर्ण साक्षर र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृतका अनुसार पालिकामा स्वास्थ्य वीमासहितको आन्तरिक लगानीमा ५ जना डाक्टरसहितको २४ घण्टे आधारभूत अस्पताल सञ्चालन छ ।

















