बिर्तामोड ।
टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट झापाका तीन जना पत्रकार पुरस्कृत भएका छन् । पत्रकार सुरेन्द्र भण्डारी, इन्दु पूर्वेली र चिरञ्जीवी घिमिरे पुरस्कृत भएका हुन् । हेम–सरिता फाउन्डेसनले स्थापना गरेको पुरस्कार २०८१ बाट भण्डारी र पूर्वेली पुरस्कृत भएका हुन् भने २०८२ बाट पत्रकार घिमिरे पुरस्कृत भएका हुन् ।
भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धनको क्षेत्रमा कलम चलाउने पत्रकारहरु मध्ये प्रत्येक वर्ष एक जनालाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ । आज (मङ्गलबार) अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा बिर्तामोडमा आयोजित कार्यक्रममा २०८१ बाट पत्रकार भण्डारी र पूर्वेली संयुक्त रुपमा पुरस्कृत भएका छन् भने २०८२ बाट ५० हजार ५५५ रुपैयाँ राशीको सो पुरस्कार घिमिरेलाई प्रदान गरिएको हो ।
पुरस्कृत व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरिलगायतले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । त्यस्तै लैंगिक हिंसा विरुद्धको लेखनवृत्ती बापत पत्रकारद्वय ज्योस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ झापाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, कोशी प्रदेशका अध्यक्ष भरत खडकालगायतले शुभकामना मन्तब्य राखेका थिए । पुरस्कृत व्यक्तित्वको तर्फबाट चिरञ्जीवी घिमिरेले आफ्ना भनाई राखेका थिए । महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

















