मेचीनगर ।
झापा मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नंं १ को नयाँ कार्यसमिति चयनका लागि आगामी मंसिर २७ गते निर्वाचन हुँदैछ । सामुदायिक वन व्यवस्थापन, संरक्षण तथा उपभोक्तामुखी कार्यक्रमका कारण स्थानीय समुदायमा उच्च प्रभाव राख्ने यस संस्थाको नेतृत्व चयनमा यसपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार बीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।
मंगलवार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा स्वतन्त्रबाट युवराज रेग्मी, एमालेबाट दिलीप शंकर, कांग्रेसबाट पुन्यप्रसाद आचार्य र रास्वपाबाट लोकनाथ काफ्लेको उम्मेदवारी परेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले आफ्नो–आफ्नो प्यानल घोषणा गदै उम्मेदवारी मनोनयन गरेका हुन् । नेपाली कांग्रेसले यसपटक पनि पूर्ण टिमसहित उम्मेदवारी प्रस्तुत गरेको छ । कांग्रेसले उपाध्यक्षमा चन्द्र किसान, सचिवमा बिना आङ्दाम्बे, सहसचिवमा दुर्गा बानियाँ तथा कोषाध्यक्षमा मनिता उप्रेतीलाई चुनावी मैदानमा उतारेको छ । कांग्रेसले संस्थागत सुधार, पारदर्शिता र उपभोक्ता सहभागितालाई प्रमुख एजेन्डा बनाएको छ ।
यस्तै, नेकपा एमाले पनि प्रतिस्पर्धी प्यानलसहित चुनावी मैदानमा उत्रिएको छ । एमालेको तर्फबाट उपाध्यक्षमा भलाकाजी दाहाल, सचिवमा देवी चापागाईं तथा कोषाध्यक्षमा शान्ता डाँगी र सहसचिव पदमा विमला पाठक उम्मेदवार रहेका छन् । एमालेले अनुभवसहितको नेतृत्व, वन संरक्षणमा कडाइ र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेको दाबी गरेको छ ।
यस्तै, रास्वपाबाट उपाध्यक्ष पदमा टेकबहादुर विक र कोषाध्यक्ष पदमा शोभा विष्ट सुवेदी, सहसचिवमा तुलसा खातीलाई उम्मेदवार बनाएको छ । अरु पदमा उसले उम्मेदवारी दिएको छैन । रास्वपाले नयाँ अनुहारलाई काम गर्ने अवसर दिनुपर्ने एजेन्डा अघि सारेको छ ।
स्वतन्त्र तर्फबाट युवराज रेग्मीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले सामुदायिक वनलाई गैर–राजनीतिक र पारदर्शी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रेग्मीले उपभोक्ताको प्रत्यक्ष सहभागिता, महिला तथा विपन्न समूहका कार्यक्रम सुदृढीकरण र वन संरक्षणमा वैज्ञानिक विधिको प्रयोग प्रमुख एजेन्डा रहेको बताएका छन् । उनको स्वतन्त्र उम्मेदवारीले दलगत प्रतिस्पर्धामा वैकल्पिक विकल्प खडा भएको स्थानीयले बताएका छन् ।
करिब ७३० उपभोक्ता घरधुरी रहेको उक्त वनको निर्वाचनमा एक घरधुरीबाट दुई जनाले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–९ को महत्वपूर्ण सार्वजनिक स्रोतका रुपमा रहेको छ ।
काठ, दाउरा, घाँस तथा अन्य वन उत्पादक सामग्री वितरण, सामाजिक विकास कार्यक्रम, सीप विकास तालिम र संरक्षण योजनामा सक्रिय रहँदै आएको यस समूहमा उपभोक्ताको संख्यात्मक रुपमा पनि उल्लेखनीय सहभागिता छ । नेतृत्व परिवर्तनले कार्यक्रम तथा नीति–निर्देशनमा ठोस प्रभाव पार्ने भएकाले उपभोक्ताहरु यसपटकको निर्वाचनप्रति विशेष चासो राखिरहेका छन् ।


















