झापा ।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । डिजेल र मट्टितेलको मूल्यमा  १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । 

यसैगरी निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर छ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार १५ पुगेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल–मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ ६२ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।