झापा । 

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बृद्धि भएको छ । यसअघि १९ वटा परीक्षणको ६ हजार ५ सय रुपैयाँ शुल्क रहेकोमा नयाँ कार्यविधि अनुसार ३४ वटा परीक्षण गर्नुपर्ने अवस्थामा शुल्क बढेको  र हाल ९ हजार ५ सय पुगेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको करिब एक सातापछि स्वास्थ्य परीक्षण शुल्क बढेको हो । बढेको शुल्क बुधबारदेखि कार्यान्वयनमा आएको स्वास्थ्य व्यवसायीहरुले बताएका छन् ।

श्रम मन्त्रालयले जारी गरेको स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को छैटौं संशोधन २०८१ मा हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइडसहित रक्त परीक्षण गर्दा सिबिसी, इएसआर, प्लेटलेट, क्षयरोग परीक्षण गर्दा छातीको भिडियो एक्स–रे, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोग, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी, मिर्गौला परीक्षण गर्दा सिरम युरिया, क्रियाटिनिन श्वासप्रश्वास, छालाका रोग समेत ३४ प्रकारका रोगको परीक्षण गर्नुपर्ने प्रावधान छ ।

तर, वैदेशिक रोजगारमा जाने युवा उमेरको जनशक्तिको यति धेरै परीक्षण गर्ने र ठुलो अंकमा शुल्क लिने कार्य अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको भन्दै कतिपयले शुल्क बृद्धिको आलोचना गरेका छन् ।

नेपाल मेडिकल व्यवसायी संघका महासचिव कृष्णप्रसाद बजगाईंले यसअघि १९ वटा परीक्षणको ६ हजार ५ सय रुपैयाँ शुल्क रहेकोमा नयाँ कार्यविधिअनुसार ३४ वटा परीक्षण गर्नुपर्ने अवस्थामा शुल्क बढेको नभइ घटेको दाबी गरे । उनले सरकारले दिएको निर्देशन अनुसार हामी व्यवसायीले डेढ करोडसम्म लगानी गरेर स्वास्थ्य संस्थालाई अत्याधुनिक बनाएको बताएका छन् ।

सरकारले तोकेका रोगहरूको सरकारी अस्पतालमा परीक्षण गर्दा नै १४ हजारसम्म लाग्ने अवस्था छ । वैदेशिक रोजगारमा जाने कामदारहरूमा मिर्गौला समस्या अत्यधिक मात्रामा बढेको छ, छातीको भिडियो एक्सरेलगायत परीक्षण गर्दा शुल्क भन्दा गुणस्तरीय महत्वपूर्ण बनेको उनको भनाई छ  । सबै पक्षको जोड गुणस्तरीय स्वास्थ्य परीक्षणमा  हुनुपर्ने उनले बताए ।