झापा ।
झापाको दमक नगरपालिका–१ रवी स्टेन छेउमा रहेको आर क्यू होटलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । उक्त होटलको कोठा बुक गरि बसेका ती व्यक्तिहरुको साथबाट लागु औषध खैरो हेरोईनको कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा आज (बुधवार) २ः३० बजेको समयमा नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटीएको टोलिले आरक्यू होटलको तेश्रो तलाको ४ नम्बर कोठा बुक गरि बसेका दमक–७ घरभई हाल दमक–१ सिर्पाली चौकका २५ बर्षीय रामकुमार गौतम र मोरङको उर्लावारी–८ दुर्गापुरी का ३० बर्षीय ललिता धिमाल लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुको शरिर तथा उक्त कोठा समेत खानतलासी गर्दा लागू औषध खैरोहेरोईन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई तत्काल डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक बाहेक ८ ग्राम, राम कुमार गौतमको साथबाट नेपाली २८ हजार रुपैयाँ समेत फेला परि नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















