दहीझोडा। 

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।समूहको कार्यालय प्राङ्गणमा समूह आज (मंगलबार) बार्षिक साधारणसभा सम्पन्न भएको हो । 

समुहका अध्यक्ष देवराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अनर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा समूहका अध्यक्ष बुढाथोकीले संस्थाको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक पूष्पबहादुर घलेले आन्तरिक लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष सनिसा बस्नेतले चालु आर्थिक वर्ष २०८२/०८३ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

प्रस्तुत प्रतिवेदनमा वन संरक्षणको लागि वन संरक्षण उपसमितिलाई जिम्मेवारी प्रदानसँगै नियमनकारी निकायसँग सम्पर्क र समन्वय गरिएको, वनको खाली जमिनमा विभिन्न प्रजातीका तीन हजार वटा वृक्षारोपण तथा ब्लक नम्बर ३ मा तीन हजार वटा बाँस रोपण, इन्भेन्ट्री तथा वन कार्य योजना निर्माण, भूक्ष्य रोकथाम तथा तटबन्धन, वन सम्बन्धी सचेतनालगायतको कार्यक्रमहरु गरिएको उल्लेख गरिएको छ । 

गत आर्थिक वर्षमा एक करोड ७८ लाख ३७ हजार नौ रुपैयाँ ४५ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित दुई करोड दुई लाख ९२ हजार छ सय ३० रुपैयाँ २१ पैसा बराबरको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । 

जसअनुसार वन विकासतर्फ ९५ लाख रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ ७१ लाख ८२ हजार रुपैयाँ, प्रशासनिक खर्चतर्फ १६ लाख २२ हजार छ सय ३० रुपैयाँ २१ पैसा, विविधतर्फ १३ लाख ७० हजार रुपैयाँ, ट्रयाक्टर सञ्चालनतर्फ चार लाख १८ हजार रुपैयाँ र सामाजिक विकास खर्चतर्फ दुई लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सोही कार्यक्रममा छविलाल लम्सालको संयोजकत्वमा गठन भएको तत्कालीन आठ सदस्यीय निर्वाचन समितिलाई कदर पत्रबाट सम्मानित गरिएको थियो ।  कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख बलदेवले नगरले हात्ती प्रभावित क्षेत्र बनजंगलबा लागि १५ लाख रुपैयाँ सिलिङ बजेट छुट्याएको र त्यो बजेटका लागि योजना  बनाएर पेश गर्न आग्रह गर्नुभएको छ । उनले नगरले यस बर्ष अर्जुनधारा–४ को बिकासलाई प्राथमिकता दिने प्रतिवद्धतासमेत जनाएका छन् । 

कार्यक्रममा अर्जुनधारा–४ का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख महेन्द्र पौडेल, प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मातृका पोखरेल, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपक दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

समूहका उपाध्यक्ष रुद्रबहादुर पौडेल खत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रकुमारी बुढाथोकीले गरेकी थिइन् । ७४६.७० हेक्टर बनक्षेत्र रहेको दहिझोडा सामुदायिक बन समुहमा हाल ३० वटा टोल छन् भने एक हजार ९३२ घरधुरी रहेका छन् ।