झापा । 

आज नेवार समुदायमा म्हः अर्थात् आत्म पूजा पर्व मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गरेका छन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेका स्थानहरुमा भव्य रुपमा मनाउने गरिन्छ  ।

नेवारी समुदायको बाहुल्यता स्थानहरु काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ । यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुरका नेवार समुदायले आज भाइटीका मनाउँदै छन् । 


यसैगरी नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ, जसलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँछन्।

राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात गरेका थिए। विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चल्यो, र २०६५ मा पुष्पकमल दाहालले मान्यता दिने घोषणा गरेका थिए। विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो ।