झापा । 

नवीकरणका लागि दस्तुर तिरेर बायोमेट्रिक दिएका क्रोएसियामा रहेका करिब चार सय नेपाली नवीकरण भएको राहदानी नपाउँदा आकर्षक तलबको रोजगारी माया मारेर घर फर्किनुपर्ने बाध्यतामा रहेका छन् । नेपालबाट वैदेशिक रोजगारीका लागि गएका भीम राउत, जीवन घलान, हरिदत्त भट्टराई, अरुण लामा, शान्ति थिङलगायत चार सयभन्दा बढी नेपाली रोजगारी गुमाउने बाध्यतामा रहेका छन् ।

भियनास्थित नेपाली दूतावासमा नवीकरण भएर आएका राहदानी यसअघि क्रोएसियाको गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत वितरण हुने गरेको थियो । एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले नवीकरण भएका राहदानी कामदारको पहुँचमा पुर्‍याउने गरेका थिए । त्यसबाट कामदारको समय र खर्च दुवै बचत हुने गरेको, तर परराष्ट्र मन्त्रालयले भियनास्थित नेपाली दूतावासमा भरतकुमार रेग्मीलाई राजदूत नियुक्त गरेर पठाएपछि उनले राहदानी वाहक व्यक्ति सशरीर दूतावासमा उपस्थित भएर भरपाई गरेर राहदानी लैजानुपर्ने भनेपछि नवीकरण भएर भियना पुगेको राहदानी क्रोएसिया नपठाइदिएकोले रोजगारी गुमाउने अवस्थामा पुगेका राउतले बताए ।

कैलालीका २५ वर्षीय इन्द्र साउद नवीकरण भएको राहदानी समयमा पाउन नसकेपछि क्रोएसियामा पाइरहेको आकर्षक तलब माया मारेर बिहीबार नेपाल फर्किएका छन् । गत डिसेम्बर १७ तारिकमा राहदानीको म्याद सकिएपछि उनले क्रोएसियामा आएको नेपाली दूतावास भियनाको टोलीलाई तोकिएको सरकारी दस्तुर तिरेर राहदानी नवीकरणका लागि बायोमेट्रिक गरे । तर एक वर्ष पुग्न लाग्दा पनि राहदानी नपुगेपछि उनी आकर्षक तलब भएपनि माया मारेर स्वदेश फर्किएका हुन् ।

क्रोएसियाको दक्षिणी सहर स्पिल्टमा सामान डेलिभरी गर्ने काम गरिरहेका राउतले नेपालबाट नवीकरण भएर अष्ट्रियाको राजधानी भियानामा धेरै अगाडि पुगेका राहदानी क्रोएसिया नपठाउँदा आफूहरूले नवीकरण भएको राहदानी नपाएको बताए ।

 उनले राहदानी नवीकरण नभएपछि बैंक खातामा तलब नगएर हातमा नै बुझेका छौं । कम्पनीले सोमबारसम्मको अल्टिमेटम दिएको छ । सो समयसम्म नवीकरण भएको राहदानी पाएनौं भने कम्तीमा चार सय नेपालीले आकर्षक तलबको रोजगारी गुमाएर नेपाल फर्किनुपर्ने बाध्यता रहेको बताएका छन् । 

राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौं र सम्बन्धित मुलुक हेर्ने नेपाली दूतावासको संयुक्त टोलीले धेरै मुलुकमा घुम्ती शिविर सञ्चालन गर्ने गरेको छ । केही समयअघि फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगलको राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त संकलन र नवीकरण भएका राहदानी वितरण गरेको थियो ।  

टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएका र सम्बन्धित देशमा जन्मेका बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त संकलनको सेवा दिने गरेको छ । त्यसबाट राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाएर समस्यामा परेका नेपालीलाई ठुलो राहत भएको छ । तर भियनास्थित नेपाली दूतावासले ठुलो संख्यामा नेपाली घर फर्किने अवस्थामा पुग्दा समेत सेवाग्राहीबाट दस्तुर लिएर नवीकरण गरेका राहदानी समयमा वितरण नगर्दा चार सय वढी युवाको रोजगारी गुम्ने खतरा देखिएका छ । 

अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले दूतावासका अन्य कर्मचारीलाई समेत क्रोएसियाका नेपालीको पासपोर्ट अरुलाई नदिन ठाडो आदेश दिएका छन् । नेपालको परराष्ट्र मन्त्रालयबाट दसैं अगाडि नै भियना पुगेको पासपोर्ट अहिलेसम्म राजदूत रेग्मीकै कारण वितरण नभएको पीडित कामदारहरूले बताएका छन् । राजदूत रेग्मीको गैरजिम्मेवार कार्यले सैयौं नेपाली कामदारको क्रोयसियाको रोजगारी गुम्ने अवस्था आएकोले उनलाई तत्काल फिर्ता बोलाइ कारबाही गर्नुपर्ने पीडित कामदारहरुको माग छ । यस विषयमा राजदूत रेग्मीसँग प्रतिक्रिया लिने पटक–पटकको प्रयास भने सफल हुन सकेन ।