झापा । 

झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए–३ हट नं. ३५३ का साजन थापाको घरबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । 

शनिवार साँझ ५ बजेको समयमा लागुऔषध बिक्री वितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापाको घर कोठामा खानतलासी गरेको थियो । 

सोही घरको एउटै कोठामा बसेर लागु औषध खैरो हेरोईन सेवन तथा बिक्री बितरणको लागि तयारी गर्दै गरेको अवस्थामा सोही कोठा भित्र चस्माको खाली खोल भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोईन फेला परेको थियो । 

पक्राउ पर्नेमा दमक–३ वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए–३ हट नं. ३५३ का २७ बर्षीय साजन थापा,  ईलाम चुलाचुली गाउँपालिका–३ का ३२ बर्षीय दिपेश तामाङ सोही स्थानका ३२ बर्षीय सनम राई, दमक–३ का  १८ बर्षीय आदित्य लिम्बु, सोही स्थानका १९ बर्षीय पविन विश्वकर्मा, २५ बर्षीय सुचन दर्जी, दमकङ३ वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बि–२ हट नं. १९१–१९२ का २५ बर्षीय बिजय माझी र मोरङको मिक्लाजुङ गाउँपालिका–८ का २० बर्षीय निश्चल पोर्तेल रहेका छन् । 

पोर्तेल इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेकोमा  गत भदौं २४ गते जेन्जी आन्दोलनको क्रममा हिरासतबाट भागेर फरार भएका थिए ।यसैगरी आदित्य लिम्बू  जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकबाट  प्रहरीको हतियार लुट्नेमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । 

उनीहरु ८ जनैलाई नियन्त्रणमा लिएर उक्त लागूऔषध तत्काल डिजिटल तराजुमा नाप तौल गर्दा  प्लाष्टिक बाहेक ७ ग्राम ८०० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त लागुऔषध बरामद गरि उनीहरुलाई समेत पक्राउ गरी कार्यालयमा ल्याएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।