झापा ।
अविरल बर्षापछि आएको वाढीका कारण पिडीत बनेकालाई राहत वितरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति झापाको आज (मंगलबार) बसेको बैठकले नौ बुँदे निर्णय गरेको छ । गत असोज १८ देखि २० सम्म अति बर्षातको कारण बाढी पहिरो डुवानमा परी देशका विभिन्न भागमा ठूलो धनजनको क्षति भएकोमा समितिले दुःख व्यक्त गर्दै विपद्मा परी मृत्यु भएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बाढी डुवानमा परी जिल्लाका झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी नगरपालिकालगायतका स्थानीयतहमा धेरै घरहरु डुवानमा परेको, कैयौं परिवार अस्थायी रुपमा विस्थापित हुनु परेको, धान तथा अन्य खेतीवाली र पशुधन समेत क्षति भएको अवस्थामा स्थानीय तहबाट मात्र राहत वितरण सम्भव नहुने भएकोले जिल्ला तहबाट पनि राहत जुटाई स्थानीय तहमा आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री पठाउने, यस्तो सामग्री सम्बन्धित स्थानीय तहको नेतृत्वमा पारदर्शी ढंगले प्राथमिकता प्राप्त व्यक्तिहरुलाई वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
राहत वितरणको समयमा आवश्यक शान्ति सुरक्षा प्रबन्ध नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मिलाउने, प्रभावित परिवारको यथार्थ विवरण स्थानीय तह, स्थानीय प्रहरी, रेडक्रस समेतको संयुक्त टोलीले अविलम्ब संकलन गरी सक्ने, यसका लागि आवश्यक सहजीकरण नेपाल रेडक्रस सोसाइटीले गर्ने निर्णय गरेको छ ।
कृषि तथा पशु एवं सडक, पुल, खानेपानी, विद्युत लगायतका पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित विषयगत कार्यालयले ७ दिनभित्र तयार गरी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने, बाढी डुवान प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य कार्यालय र प्रादेशिक अस्पतालको अगुवाईमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु समेतको सहभागितामा स्वास्थ्य टोलीहरु यथाशिघ्र खटाउनका साथै नियमित सूचना प्राप्त गरी कतै स्वास्थ्य समस्या देखिए तत्काल विशेषज्ञ सहितको टोली खटाउने पनि निर्णय गरेको छ ।
यसैगरी समितिले विपद् प्रभावितले कहिँ कतै राहतको अभावमा कठिनाई भोगिरहेको जानकारी भएमा तत्काल सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि वा नजिकको प्रहरीसँग सम्पर्क राख सकिने, विपद्को बेला सहयोग गर्न इच्छुक दातृ निकाय तथा अन्य संघ/संस्था/ महानुभावहरुलाई जिल्ला प्रशासन कार्यालयसँग अनुमति/सहमति लिएर तोकिएको स्थानीय तहमा गई उक्त स्थानीय तहको संयोजनमा राहत वितरण गर्न सक्ने व्यवस्था गरिएको जानकारी गराउने तथा समन्वय नगरी आफुखुसी राहत वितरण गर्न जाने तथा प्रचार प्रसारका लागि मात्र वितरण गर्न खोज्ने कार्य पूर्णतः नियन्त्रण गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रभावित परिवारको संख्या धेरै अर्थात करिव ५ हजार परिवार भन्दा वढी भएको प्रारम्भिक अनुमान रहेको र प्रायः सबैको घर डुवानमा परी ओड्ने ओछ्याउने, खाद्यान्न लगायतका सामग्री पूर्णतः नष्ट भएको अवस्था रहेकोले स्थानीय तह तथा जिल्ला स्तरबाट जुटाइने राहत सामग्रीले मात्र पर्याप्त नहुने भएको हुँदा तत्कालका लागि एक हजार ५०० परिवारलाई पुग्ने खाद्य सामग्री (प्याकेज) तथा एक हजार थान ब्ल्याङ्केट तथा एक हजार थान मेट्रेस उपलब्ध गराई दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश विराटनगरसँग अनुरोध गर्ने निर्णय भएको समितिले जनाएको छ ।
यस्तै विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ समेतलाई ध्यानमा राख्दै तत्कालका लागि पूर्ण प्रभावित परिवारलाई प्रति परिवार राहत स्वरुप २५ के.जी.सोना मन्सुली चामल, २ के.जी.दाल, २ केजी नुन, १ लिटर तेल, आलु ५ के.जी., खानेपानी आवश्यकता अनुसार–१ कार्टुन, अन्य सामाग्री ब्ल्याङकेट २ थान र ओछ्याउने म्याट्रेस २ थान वितरण गरिने सामग्री उपलब्ध गराउने र राहत उपलब्ध गराउन इच्छुक संघ संस्था निकायलाई समेत सोहि व्यहोरा जानकारी गराउने साथै उपलब्ध हुने स्रोत तथा आवश्यकताका आधारमा राहत प्याकेजमा परिमार्जन गर्न सकिने बिपद् समितिले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैंठकमा एलवी साँवा, गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी, झापा गाउँपालिकाकी कार्यबहाक प्रमुख अन्जुदेवी थपलिया, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवत्री राजवंशी, मेनीनगर नगर प्रमुख गोपालकुमार बुढाथोकी, बिर्तामोड नगर प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अर्जुनधारा नगर उप–प्रमुख खड्गमाया पराजुली, जिल्ला समन्वय समिति झापा प्रमुख विश्वनाथ बराल, हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत बिभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि, सशस्त प्रहरी, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान साथै बिभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । सोमवार बिर्तामोडमा भएको वैठकले एकका लागि एक अभियानको अगुवाईमा राहत संकलन र राहत वितरण गरिने निर्णय भएको थियो ।


















