बिर्तामोड ।
जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका एकका लागि एक अभियान सहित विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरेका छन् ।
एकका लागि एक अभियानले एक लाख रुपैयाँ बरावरको जिन्सी सामग्री र पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा आयोजित कार्यक्रमकाबीच एक सय थान ब्लाङ्केटसहित पाँच लाख रुपैयाँको चेक भवन पुनः निर्माण व्यवस्थापनमा रहेको टोलीलाई हस्तान्तरण गरिएको हो ।
अभियानका तर्फबाट नवीन गट्टानीले भवन पुनः निर्माण व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहेका पदम श्रेष्ठ, रमेश चौधरी, वीपिन वजगाँई, सजेश शिवाकोटीलाई हस्तान्तरण गरेका थिए । भोलि अर्थात शनिवार अभियानले कनकाईस्थित प्रहरी कार्यालयलाई पनि सहयोग गर्ने बताइएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको समेत उपस्थिति रहेको थियो ।
दर्जन भन्दा बढी सामाजिक संघ संस्थाले क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण र प्रहरीका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेका थिए । यसै क्रममा रोटरी क्लब अफ बिर्तामोडले २ थान कम्प्युटर सेट, समर्पित फाउण्डेशनले २ थान कम्प्युटर र १ थान प्रिन्टर, अर्जुनधारा जलेश्वरधामले ५१ हजार रुपैयाँको चेक, नेपाल चार्टर एकाउन्टेन्ट संघ झापाले ५१ हजार रुपैयाँ बरावरको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै साम्भावी फुड एण्ड बेभरेज अर्जुनधाराले ५१ रुपैयाँको चेक , न्यू क्वालिटी कम्प्युटर बिर्तामोडले १ थान प्रिन्टर, मनोज प्रसाईं बिर्तामोडले २१ हजार रुपैयाँको चेक , मारवाडी सेवा समितिसहितका संस्थाबाट एक लाख रुपैयाँको चेक र न्युटन्स एजुकेशन एकेडेमीको बाल क्लबले ११ हजार एक सय ११ रुपैयाँ नगद प्रदान गरेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी संरचना पुनः निर्माण तथा मर्मत सम्भारका लागि देश तथा विदेशबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको निर्माण कार्यमा सहभागी पदम श्रेष्ठले बताए ।
आजगनीका कारण इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका ११ वटा भवनमा क्षति पुगेको छ । दशैं अगावै क्षति ग्रस्त १० भौतिक संरचनाको मर्मत कार्य सम्पन्न गर्ने र तिहार अगावै बाँकी एउटा संरचना तयार पार्ने श्रेष्ठको भनाई छ ।


















