झापा ।
काँकरभिट्टा र दमकबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काँकरभिट्टा र दमकबाट फरक फरक समयमा मंगलबार दुई जनालाई पक्राउ गरिएको हो ।
मंगलबार साँझ ६ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पुरानो मेचीपुलबाट एक जना र ४ः२० बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित नियन्त्रणमा लिएको छ ।
भारतको पानीट्याङ्कीबाट भाडाको सिटि सफारीमा आउँदै गरेका अर्जुनधारा–११ का २६ बर्षीय बिरेन्द्र लिङ्देनलाई शंका लागेर सोधपुछ तथा शरिर तलासी लिँदा लागुऔषध (खैरो हिरोईन) जस्तो देखिने लिसाइलो पदार्थ १ ग्राम ३३० मिलिग्राम फेला परेको थियो । उक्त लागुऔषधसहित उनलाई नियन्त्रण गरी आवश्यक कारवाही भइरहेको छ ।
यसैगरी दमक– ६ बसपार्कबाट हिडिरहेको अवस्थामा दमक–१ का ३३ बर्षीय हर्क बहादुर कुमाललाई शंका लागेर चेकजाच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लास्टिक बाहेक २ ग्राम ७२० मिलिग्राम फेला परेको थियो । उक्त लागूऔषधसहित दुवै जनालाई सम्बन्धी प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















