झापा । 

अप्टिकल फाईभर टेलिफोनको तार चोरी गरेर भारततर्फ लाँदै गरेका पाँच जना पक्राउ परेका छन् । बुधवार  बिहान ११ बजे मेचीनगरको इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ ५ वटा बोरामा प्याक गरी अप्टिकल फाईभर टेलिफोनको तार चोरी गरी लाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ जिल्ला पानीट्याङका २४ बर्षिया कातिक अधिकारी, भारत दार्जिलिङ जिल्ला पानीट्याङका ३४ बर्षीया राहुल अधिकारी, झापा बुद्धशान्ति गाउँपालिका शितल वस्तीका २५ बर्षीया बिजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारीका २७ बर्षीय दिनेश परियार र कचनकबल गाउँपालिका–३ डाँगीबारीका ४२ बर्षीय संजय माझी रहेका छन् ।

पक्राउ परेका ती नेपाली तथा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।