झापा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएपनि वैदेशिक रोजगारमा जानेहरूको उडान शुरु हुन सकेको छैन । बिहीबार यसअघि टिकट लिएकाहरूको फाट्टफुट्ट उडान शुरु भएको छ ।
राजधानीमा निषेधाज्ञाको आदेश जारी भएकाले अधिकांश म्यानपावर कम्पनी बुधबार बन्द रहेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले स्थिति सामान्य भएको अवस्थामा शुक्रबारदेखि नेपाली कामदार वैदेशिक रोजगारमा जानसक्ने आंकलन गरेका छन् ।
विमानस्थल बन्द भएसँगै नयाँ र पुनः श्रम स्वीकृतिका माध्यमबाट दैनिक २५ सयको हाराहारीमा वैदेशिक रोजगारीमा जाने कामदार प्रभावित भएका छन् । वैदेशिक रोजगार व्यवसायीहरूले नेपालमा उत्पन्न विषम परिस्थितिका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको विषय रोजगारदाताहरूले जानकारी पाएका कारण तत्काल कामदार पठाउन दबाब नदिएको बताएका छन् ।
तर, नेपालको विषम अवस्था यथावत रहे राजेगारदाताले छिटो कामदार पठाउन दबाब दिने र पठाउन नसकेको अवस्थामा कम्पनीसँगको सम्बन्ध बिग्रिने विषयले भने व्यवसायीमा तनाव देखिएको छ । राजधानीमा आगजनी र दंगा भड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेताहरू भाग्नसक्ने भन्दै आन्दोलनकारीहरूले दबाब दिएपछि मंगलबार अपराह्नदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो ।
विमानस्थल कार्यालयले अर्को सूचना जारी नभएसम्म विमानस्थल खुल्ने समय निश्चित भएको अवस्थामा विमानस्थल सञ्चालक समितिको बैठकले दिउँसो विमानस्थलमा उडान शुरु गर्ने निर्णय गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनी र अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।
यता वैदेशिक रोजगार विभागका कर्मचारीले घरबाटै श्रम स्वीकृति प्रदान गरेका छन् । जेनजी आन्दोलनकारीको प्रदर्शनको क्रममा भएको आगजनीबाट विभागमा आंशिक क्षति भएको थियो । विभागका तीन वटा ब्लकमध्ये श्रम स्वीकृति प्रदान गर्ने माथिल्लो ब्लक सुरक्षित रहेको छ । आगालागीबाट महानिर्देशक कमलप्रसाद भट्टराईसहित निर्देशकहरूको कार्यकक्षमा क्षति पुगेको छ ।
महानिर्देशक भट्टराईको कार्यकक्ष केही दिनअघि मात्रै रेनोभेसन गरिएको थियो । आन्दोलनकारीले विभागका दुई वटा मोटरसइकल जलाएका छन् । विभागको सर्भर सुरक्षित रहेकाले श्रम स्वीकृतिको काममा समस्या छैन ।
महानिर्देशक भट्टराईले मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण अन्य क्षेत्रमा जस्तै विभागबाट प्रदान हुने सेवा प्रवाहमा जटिलता देखिएको बताए । अवस्था सामान्य नभएसम्म कर्मचारीले घरबाटै सेवा प्रवाह गर्ने छन् ।
महानिर्देशक भट्टराईले सम्भव भएसम्म घरबाटै अनलाइन सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएको बताए । विभागले श्रम स्वीकृति, उजुरी दर्ता, नयाँ म्यानपावर कम्पनी दर्ता तथा खारेजी, उजुरी दर्ता, राहत, उद्धार, मेलमिलाप तथा अनुसन्धान एवं अभियोजनको काम गर्दै आएको छ ।


















