हल्दीबारी ।
हल्दीबारी गाउँपालिकाले जेनजीको देशव्यापी आन्दोलनमा डेढ दर्जन वढी युवा तथा बिद्यार्थीको निधन भएको भन्दै शोक बिदा दिएको छ । आन्दोलनको क्रममा भएको घटनामा परी अनेक विद्यार्थी तथा युवायुवतीको दुःखद निधन भएको खबरले सम्पूर्ण राष्ट्र शोकाकुल भएको भन्दै आज (मंगलबार) शोक बिदा दिएको हो ।
पालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले एक सूचना जारी गरी आज शोक बिदा दिएको जनाएका छन् । उनले जारी गरेको सूचनामा भनिएको छ ‘यस गम्भीर क्षणमा हल्दीबारी गाउँपालिका दिवंगत आत्माहरूको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछ ।’
‘यस दुःखद घडीमा दिवंगत आत्माको शान्ति र परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै मिति मंगलबार (आज) गाउँपालिकाले शोक बिदा दिएको हो ।’ अध्यक्ष लिङ्दनेद्धारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) लगायत गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण संघ, संस्था, सामुदायिक तथा निजी शैक्षिक संस्था बन्द रहने गरी शोक विदा दिइएको छ ।
साथै, यस प्रकारका समस्या र घटनाहरूको समाधान सबै पक्ष मिलेर वार्तामार्फत शान्तिपूर्ण तरिकाले गर्न नेपाल सरकारलाई जोडदार आग्रह समेत पालिकाले गरेको छ ।



















