झापा । 

जेनजी पुस्ताले आज (सोमवार) देशैभर प्रर्दशन गर्ने भएका छन् । सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेनजीले प्रदर्शन गर्न लागेका हुन् । आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ । 

उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।

जेन जीले सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकार उल्लङ्घन हुने पनि उनीहरूले चेतावनी दिएका छन् । काठमाडौंसहित झापालगायतका स्थानमा पनि जेनजी पुस्ताले प्रदर्शन गर्ने छ ।