झापा ।
झापाको कमल गाउँपालिका–५ पाडाजुँगी चोकबाट एक भारतीय नागरिकसहित तीन जना लागूऔषधसहित पक्राउ परेका छन् । गएराति ८ बजेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका–८ घर भई हाल दमक नगरपालिका–८ बस्ने ३१ बर्षीय भोला अमात राय, दमक–७ सुकुम्बासी टोलका २८ बर्षीय राजिव मण्डल र भारतको बिहार प्रान्त ठाकुरगञ्ज–५ घर भई हाल दमक–८ किरात चौक बस्ने २० बर्षीय आलम खान रहेका छन् ।
लागुऔषध बिक्रि बितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई पक्राउ गरेकोे हो । चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ तत्काल डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम फेला परेको थियो ।
उनीहरुलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















