बिर्तामोड ।
झापाको बिर्तामोडमा ‘यहाँ छ’ एप्स सार्वजनिक गरिएको छ । पछिल्लो समय युवाहरु विदेशी रहेको भन्दै नेपालमै युवाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले ‘यहाँ छ’ एप्स सार्वजनिक गरिएको छ ।
डिजिटल माध्यम अर्थात अनलाइन सर्भिस दिनेलगायतका अन्य धेरै सेवासहितको ‘यहाँ छ’ एप्स सोमवार (आज) देखि सञ्चालनमा ल्याइएको हो । रुट देब्स सफ्टवेयर डेभलोपमेन्ट प्रालिले ‘यहाँ छ’ एप्स सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमकाबिच ‘यहाँ छ’ एप्सको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।
कम्पनीका सल्लाहकार रवी चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका नविन भण्डारीले गरेका थिए । कम्पनीको उदेश्य, सेवासुविधा तथा आगामी योजनाका बिषयमा कम्पनीका रविन थापाले प्रस्ट पारेका थिए ।
‘यहाँ छ’ (Yahaan Chha)’ प्लेटफर्मलाई नेपालकै पहिलो प्राविधिक रूपमा व्यवस्थित फ्रीलान्सिङ सेवा भएको दाबी गरिएको छ ।‘यहाँ छ’ प्लेटफर्मले नेपालभरिका फ्रीलन्सर र सेवाग्राहीलाई एउटै डिजिटल माध्यममार्फत जोड्ने उद्देश्य राखेको छ । उद्घाटन समारोहमा प्रस्तुत विवरण अनुसार यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सातवटा विभाग गठन गरिएको छ ।
त्यस अनुसार KYC विभागले प्रयोगकर्ताको पहिचान सुरक्षित गर्ने,Finance विभागले भुक्तानी तथा खातासम्बन्धी कारोबार व्यवस्थापन गर्ने, CSD(Customer Support Desk) ले प्रयोगकर्ताको जिज्ञासा समाधान गर्ने, Dispute विभागले क्लाइन्ट र फ्रीलान्सरबीचको विवादलाई न्यायसंगत रूपमा समाधान गर्ने जिम्मेवारी लिनेछ । यस्तै, IT विभागले प्रविधिलाई सुरक्षित र भरपर्दो बनाउने, Marketing विभागले ब्रान्ड प्रवद्र्धन गर्ने तथा Platform Moderator ले सम्पूर्ण गतिविधिको निगरानी गर्ने बताइएको छ । प्लेटफर्मका सञ्चालकमा रविन थापा, योगेश भण्डारी, नवीन कार्की, गोपाल पौडेल र कुमार चापगाई रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, ‘यहाँ छ’ एप्स वंगलादेशका इलास खानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमकाबिच ‘यहाँ छ’ एप्स सञ्चालनमा सहयोग गरेको भन्दै ढुवानी व्यवसायी पदम श्रेष्ठलाई कम्पनीले सम्मानसमेत गरेको छ । श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन वुढाथोकी, जिल्ला खेलकूद समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीलगायतको बाक्लो आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए ।


















