रामचोक । 

झापाको बिर्तामोड–२ मा सहारा साकोस रामचोक जेष्ठ नागरिक संस्थाको भवन उद्घाटन गरिएको छ । सहारा नेपाल र बिर्तामोड नगरपालिकासहित स्थानीय समाजसेवीहरुको भौतिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको ज्येष्ठ नागरिकको भवन आज (सोमवार) उद्घाटन गरिएको हो । 

सहारा नेपाल साकोसको १० लाख बिर्तामोड नगरपालिकाको १० लाखसहित स्थानीय समाजसेवीहरुको भौतिक तथा आर्थिक सहयोगमा भवन निर्माण भएको बताइएको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले भवनको उद्घाटन गरेकी हुन् । 

रामचोक जेष्ठ नागरिक संस्थाका अध्यक्ष दीनानाथ सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका सचिव रामप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छविलाल खतिवडा, जेष्ठ चैतारी बिर्तामोड–१ का अध्यक्ष डम्बर बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा सहारा नेपाल साकोसका द्धितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, साकोसकी सदस्य गुहेश्वरी कार्की, साकोसका उप–निर्देशक दिनेशबहादुर निरौला, जेष्ठ नागरिक चौतारी उप–समिति संयोजक राम रोक्का, बिर्तामोड–२ का वडा सदस्य ओमनाथ गौतम, तीला गौतमलगायत स्थानीय समाजसेवी तथा बृद्धिजिवीहरुको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन रामचोक सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भोला धितालले गरेका थिए । 

कार्यक्रममा नृत्य, गानलगायतका सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकसहित स्थानीयको उल्लेखिय उपस्थिति रहेको थियो ।