झापा ।  

झापा भद्रपुर नगरपालिकाबाट लागूऔषधसहित छ जना पक्राउ परेका छन् । भद्रपुर–८ स्थित खुशबाबु श्रेष्ठको छोरा राज श्रेष्ठले आफ्नो घरबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा आइतवार साँझ ७ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट  खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक बाहेक २०.४८० मिलीग्रामसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१० का २३ बर्षिय अलताप सेख, भद्रपुर–७ का  

१९ बर्षीय रमित राजवंशी, सोही स्थानका २९ बर्षीय सुमित पासी, भद्रपुर–८ का २१ बर्षीय राज श्रेष्ठ छन् । यसैगरी धार्दिङ्गको रुवीभ्याली गाउँपालिका–५ का २४ बर्षीय गुम लामा र काठमाडौं तारकेश्वर नगरपालिका–६ का १९ बर्षीय न्यान्जी तामाङ छन् । 

उनीहरुलाई बिभिन्न कम्पनीको मोवाइल ८ वटा, नगद १४ हजार १७० रुपैयाँ, एउटा खुकुरी, एउटा पिलास, एउटा स्क्रु डाईभरसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।