बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । 

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा महिला नेतृ लक्ष्मी न्यौपाने ‘सरु’को प्रमुख आतिथ्य तथा समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा कार्यक्रम सोमवार सम्पन्न भएको हो । 

हरितालिका तीजको  अवसर पारेर समूहले अग्रज महिला व्यवसायी अम्विका उप्रेती ढकाललाई सम्मान समेत गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि ‘सरु’, विशिष्ठ अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले उनलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेका थिए । सम्मानित व्यक्तिको जीवनी सहितको सम्मान पत्र समूहकी सचिव शीला चुडालले बाचन गरेकी थिइन् । 

महिला उद्यमी समूहकी उपाध्यक्ष संगीता साहले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि ‘सरु’, संघका अध्यक्ष न्यौपाने, बिर्तामोड चिल्ड्रेन अस्पतालकी अध्यक्ष लीला मैनाली, समूहकी निर्वतमान अध्यक्ष तथा बिर्तामोड उद्योग वाणिज्य संघकी सह कोषाध्यक्ष तीलोतमा खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

मेरो भ्वाईस सिजन युनिभर्स सिजन २ की फाइनलमा पुग्न सफल जुनु प्रसाईले गायन प्रस्तुत गर्दै सहभागीलाई मनोर ञ्जन दिएकी थिइन् भने बालकलाकार श्रेया पौडेलले नृत्य प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रममा अध्यक्ष चुडालले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सम्मान मनोरञ्जन तथा दर खुवाउने उद्देश्यका साथ तीज मिलन कार्यक्रम आयोजना गरेको बताइन् । 

सो अवसरमा तीजका गीत प्रस्तुत गर्दै महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न परिकारहरु दरका रुपमा महिलाहरु तथा अतिथिहरुलाई खुवाइएको थियो ।  कार्यक्रमको संचालन समूहकी महासचिव लीला अनमोलाले गरेकी थिइन् । 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय विशाल थापा, जीवन खड्का महासचिव कुशल खतिवडा, सचिव राजकुमार साह, सदस्य सुस्मा उप्रेती, छठ महिला मञ्चकी अध्यक्ष निशा गुप्ता, सप्तक संगीतालयकी अध्यक्ष आकृति खतिवडा लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।