झापा ।
विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लका अनुसार हालसम्म मृत्यु हुने २३ जनामध्ये १६ जना नेपाली र बाँकी भारतीय नागरिक रहेको पुष्टि भएको छ । ‘मृतकका बारेमा थप विवरण सार्वजनिक गरिएको छैन । यहाँको सरकारले अनुसन्धान भइरहेको मात्र जनाएको छ,’ मल्लले भने । उनका अनुसार मृतकहरूको नाम र ठेगाना पनि अहिलेसम्म खुलाइएको छैन ।
महासंघले जारी गरेको विज्ञप्तिमा विषाक्त मदिरा सेवनपछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिक विभिन्न अस्पतालका सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएको उल्लेख गरिएको छ । पीडितहरूमा नेपाली र भारतीय मात्र नभई अन्य मुलुकका श्रमिक पनि रहेको अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका खबरअनुसार कुवेत प्रहरीले घटना घट्ने सम्भावित स्थानमा छापा मारेर केही व्यक्ति नियन्त्रणमा लिएको र विषाक्त मदिराको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । कुवेत सरकारले यस घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा लिँदै व्यापक अनुसन्धान थालिएको जनाएको छ । यो घटना पछिल्ला वर्षहरूमा कुवेतमा आप्रवासी श्रमिकबीच देखिएको सबैभन्दा ठूलो सामूहिक मृत्युको घटनामध्ये एक मानिएको छ ।


















