झापा । 

कारागारको पर्खाल नाघेर फरार रहेका एक फरार कैदी पक्राउ परेका छन् । उनी गत साउन २८ गते फरार भएका थिए । सुनसरी कारागारबाट पर्खाल नाघि फरार भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङको दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ बर्षिय रुपक पौडेल पक्राउ परेका हुन् । 

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोजतलाशकै क्रममा बिर्तामोड नगरपालिका–१० बिराटपोखरबाट लुकिछिपि बसिरहेको अवस्थामा आज (शनिवार) बिहान ६ः०० बजे पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका कैदी रुपक पौडेललाई जिल्ला अदालत सुनसरीबाट जबरजस्ती कसूरमा १३ वर्ष कैद, ५ लाख जरिवाना र ३० हजार रुपैयाँ क्षतिपुर्ति सजाय तोकिएपछि सुनसरी कारागारमा सजाय भोगिरहेका थिए ।

उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।