हल्दीबारी । 

 पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिले वडा नं ४ का तीनवटा मुख्य बजार क्षेत्र—बडाबारी, अधिकारी चोक र मङ्गलबारे बजारमा फोहोर व्यवस्थापनका लागि फलामका डस्टबिन हस्तान्तरण गरेको छ।

उपभोक्ता वन समूहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा र वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममार्फत डस्टबिनहरू वितरण गरिएको हो। वडा अध्यक्ष थापाले दिगो रुपमा फोहोर व्यवस्थापन र सामाजिक गतिविधिमा वन समिति र वडाको सहकार्य आवश्यक रहेको बताए। उनले वन र वडा दुवैले उपलब्ध गराएको सहयोगलाई समन्वय गरी आयआर्जन र दिगो विकासमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी जल थल उपशाखाका सभापति रेम खरेलले वन समितिले महिला सशक्तिकरण, फोहोर व्यवस्थापन र गरिबी निवारणमा खेलेको भूमिका सराहनीय रहेको बताउँदै, वनमा पाइने फलफूल उत्पादन गरी पर्यटक तथा आर्थिक विकासको बाटो खुल्ने बताए।

उपभोक्ता समिति अध्यक्ष पोर्तेलले वन विकासमा दिगो काम गर्दै स्थानीय सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै वितरण गरिएका डस्टबिनहरूको सही सदुपयोगमा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष शर्मिला लामिछानेले राख्नुभयो भने सहजीकरण सचिव शालिग्राम पराजुलीले गर्नुभएको थियो।

कार्यक्रममा वडा सदस्य सुनिल बाराकोटी, वडा सचिव जयप्रसाद पोखरेल, प्रहरी चौकी प्रमुखसहित वन तथा बजार व्यवस्थापन समितिका पदाधिकारीहरू उपस्थित थिए। यस पहलले हल्दीबारी–४ का बजार क्षेत्रहरूमा सफाइ व्यवस्थापनमा सुधार ल्याउँदै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।