बिर्तामोड ।
नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले झापाको बिर्तामोडमा श्रीकृष्णजन्माष्टमी महोत्सव गर्ने भएको छ । इस्कोनले आज (आइतवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर साउन ३१ गते श्रीकृष्णजन्माष्टमी महोत्सव भव्य रुपमा मनाउने जानकारी दिएको हो । बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिकै रहेको इस्कोनको शाखाले उक्त क्षेत्रमा रहेको खाली चौरमा कार्यक्रम आयोजना गरिने जनाएको छ ।
महोत्सवमा कथा, भजनकिर्तन, अभिषेक, नाटकलगायतका कार्यक्रम गरिने पत्रकार सम्मेलनमा इस्कोन प्रवत्ता कान्तिश शर्माले बताए । नेपालभरि ६४ भन्दाबढी स्थानमा शाखा÷केन्द्र स्थापित गरिसकेको इस्कोनले बिर्तामोडको अग्रसेन भवन नजिक शाखा सञ्चालन गरेर विगतको ५ वर्षदेखि आफ्ना प्रचारमुलक गतिविधि सञ्चालन गर्दै आएको इस्कोन बिर्तामोडका अध्यक्ष करण भण्डारीले जानकारी दिए । उनका अनुसार इस्कोनले धार्मिक संस्थाको र वैदिक ज्ञानलाई आधुनिक जीवनशैलीसँग मिल्ने ढंगमा प्रस्तुत गर्ने गरेकाले युवावर्गमाझ लोकप्रिय बन्दै गएको छ ।
सन् १९६६ मा श्रीश्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादद्वारा स्थापित यो संस्था नेपालमा वि.सं. २०४७ मंसीर ११ गते बुढानीलकण्ठ, काठमाडौँमा स्थापित भएको उनले जानकारी दिए । केही अमुक व्यक्ति तथा संस्थाले विर्तामोड क्षेत्रमा इस्कोनका भक्तजनहरू भएको भन्दै भेषभुषा र तिलक धारण गरी चन्दा सङ्कलन गरिरहेको पाइएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार श्रीकृष्णजन्माष्टमीको अवसर पारेर इस्कोनका शुभचिन्तकहरूसँग आफुलाई इस्कोनको प्रतिनिधिको रुपमा प्रस्तुत गर्दै दान उठाएको जानकारी प्राप्त भएको छ ।
यसरी धार्मिक स्वतन्त्रताको दुरुपयोग गर्दै इस्कोनको ख्यातीलाई निहित स्वार्थको लागि प्रयोग गरेकोमा इस्कोनले खेद प्रकट गर्दै आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्ने तयारी गरिरहेको उनको भनाई छ ।
अध्यक्ष भण्डारीले सम्पूर्ण भक्तजन तथा शुभचिन्तकहरूलाई सुचित गराउँदै इस्कोनको नाममा दान दिँदा अनिवार्य रुपमा ‘नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ’ कमलको चिन्हमा तीलक अंकित लोगोको मुनी दर्ता नम्बर र पान नम्बर हो कि होइन चेक गरेर सक्कली रसिद लिनसमेत आग्रह गरेका छन् ।
इस्कोन विश्वव्यापी रुपमा भगवद्गीता, श्रीमद्भागवत लगायतका वैदिक ज्ञानमा आधारित आध्यात्मिक, संस्कृतिक, धार्मिक, चारित्रिक एवं नैतिक शिक्षाको प्रचारप्रसार गर्ने धार्मिक संस्था भएको इस्कोन बिर्तामोडका सचिव चेतनबहादुर विष्टले जानकारी दिए ।


















