झापा । 

वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ११ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौंको बुढानीलकण्ठ–९ स्थित फराज इन्टरनेशनल ओभरसिज प्रालिबाट २३ महिनाअघि साउदीको यान्बुमा रहेको इलाइट सपोर्टिङ कम्पनी एलएलसीमा कामका लागि आएका ११ नेपाली कम्पनी बन्द भएपछि हाल अलपत्र परेका हुन् । 

अफिसियल प्रतिनिधि सम्पर्कविहीन भएपछि चार महिनादेखि अलपत्र परेका छन् । पीडितहरूका अनुसार इकामा (काम गर्ने अनुमति पत्र) को म्याद सकिएको आठ महिना भइसकेको छ । ‘प्रहरीले समाते पनि पुनः छाडिदिन्छ, बसोबासको भवनमा बिजुलीसमेत छैन । सिरहाका लव शाहाले भने, ‘नेपाल फर्किन पाएको भए हुन्थ्यो, यहाँ अत्यन्तै कठिन छ ।’

पीडितले नेपालस्थित म्यानपावर कम्पनीमा कुरा गर्दा ‘भागेर काम गर’ भन्ने सुझाव मात्र पाएका छन् । जेद्दास्थित महावाणिज्यदूतावासले यसलाई नेपाली दूतावास रियादको क्षेत्राधिकारमा पर्ने भन्दै त्यहाँ सम्पर्क गर्न भनेको, तर दूतावासमा सम्पर्क गर्दा फोन रिसिभ नहुने गुनासो गरेका छन् ।

यसरी अलपत्र पर्नेहरूमा रुपन्देहीका रेजिन गुरुङ, बागलुङका छमबहादुर राना, सिरहाका सन्तोष यादव, लव साह, कुश साह, कमल सडाइ, विनोद महरा र उमेश सहानी, सुनसरीका आकाश कुमार चौधरी र राहुल कुमार चौधरी तथा बाँकेका राम धिरज बर्मा रहेका छन् । यसबारे फराज इन्टरनेशनलका सञ्चालक झविन्द्रप्रसाद बन्जाडेसँग सम्पर्क राख्दा दूतावाससँग समन्वय गरेर कामदारहरूको समस्या समाधानको प्रयास भइरहेको जानकारी दिएका छन् ।