झापा ।
अवैधानिक रुपमा वैदेशिक रोजगारमा जाने युवाहरु वढी जोखिममा पर्ने गरेका छन् । प्रलोभनमा पारेर अवैधानिक रुपमा जाने युवाहरु ठगीने क्रम पनि वढ्दै गएको छ । वैधानिक रुपमा सञ्चालनमा रहेका संस्थाबाट भन्दा अवैधानिक रुपमा सञ्चालित संस्थाबाट विदेश गएका युवायुवतीहरु बिभिन्न समस्यामा पर्ने साथै ठगिने गरेका छन् ।
पछिल्लो समय युवाहरु कन्सल्टेन्सी, ट्राभल्स र व्यूटीपार्लरलगायतका क्षेत्रबाट विदेश जाने गरेका कारणपनि वढी जोखिम हुने गरेको वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पंधाकले शब्दपत्र डटकम अनलाइनसँगको कुराकानीका क्रममा बताएका छन् । उनले युवालाई आकर्षण सेलरीको प्रलोभनमा देखाएर भिजिट भिषाका नाममा पठाउने क्रम वढेर गएको बताएका छन् । यस्ता अवैधानिक रुपमा युवालाई विदेश पठाउने संस्थाहरुको अनुगमन निगरानी गर्नु पर्ने अध्यक्ष पंधाकले सम्बन्धीत निकायलाई आग्रह समेत गरेका छन् ।

अवैधानिक रुपम वैदेशिक रोजगारीको काम गर्ने संस्थाका कारण पनि नेपाल सरकारबाट इजाजतपत्र लिएर वैदेशिक रोजगारको काम गर्दै आएका व्यवसायीहरु मारमा पर्ने गरेको अध्यक्ष पन्धाकको भनाई छ ।
नेपाल सरकारले इजाजत पत्र दिएका कम्पनीहरुलाई अझैपनि युरोपेली मुलुकका धेरैजसो देशमा कामदार पठाउने अनुमती नदिएको र सरकार आफैले पठाउने गरेको भन्दै अध्यक्ष पंधाकले विश्वका जुनसुकै देशमा पनि कामदार पठाउने अनुमति म्यानपावर कम्पनीहरुलाई दिनु पर्ने माग गरेका छन् ।
काठमाडौंपछि झापाको बिर्तामोड वैदेशिक रोजगारीको हव बन्दै गएको छ । अध्यक्ष पंधाकका अनुसार अनुमानित एक सय ५० वढी म्यानपावरका शाखा कार्यालयहरु झापामा रहेका छन् ।
वैदेशिक रोजगारको क्षेत्रलाई संगठित रुपमा मर्यादित र सुरक्षित बनाउने उदेश्यका साथ झापामा वैदेशिक रोजगार व्यवसायी संघ गठन भएको छ । संघमा हाल एक सय १२ वटा म्यानपावरका शाखा आवद्ध रहेका छन् । जसले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत संघले बिभिन्न सामाजिक कार्य पनि गरिरहेको छ । देशको कुल अर्थतन्त्रको ६० प्रतिशत वैदेशिक रोजगारले धानेको बताउँदै अध्यक्ष पंधाकले अझैपनि वैदेशिक रोजगार व्यवसायीहरुलाई हेर्ने दृष्ट्रिकोणमा खासै परिवर्तन नभएको गुनासो गरे ।
- अवैधानिक संस्थाको नियमन, अनुगमन र निगरानी आवश्यक :
‘कन्सल्टेन्सी, व्यूटीपार्लर, ट्राभल्सलगायतले वैदेशिक रोजगारको काम गरिरहेका छन्’ अध्यक्ष पंधाकले भने ‘यी सवै अवैधानिक काम हुन्, तीनका कार्य क्षेत्र विदेश पठाउने होइन ।’ हाल केही कन्सल्टेन्सी, व्यूटीपार्लर, ट्राभल्सलगायतले अधिकांश रुपमा युवाहरुलाई विदेश पठाईरहेको अध्यक्ष पंधाकले बताएका छन् ।
‘यसरी आफ्नो अधिकार भन्दा बाहिर गएर उनीहरुले भिजिट भिषाको नाममा वैदेशिक रोजगारीमा युवायुवतीहरु पठाउँदा अधिकांश ठगिने गरेका छन् ।’ अध्यक्ष पंधाकले भने ।
वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सरकारबाट इजाजतपत्र लिएका थुप्रै म्यानपावरका कम्पनीहरु भएकाले ती संस्थाबाट जाँदा युवायुवतीहरु सुरक्षित र जनधनको सुरक्षा हुने उनले बताए । वैधानिक रुपमा सञ्चालनमा रहेका संस्थाबाट जाँदा समस्या भए समाधान गर्न सहज र सरल हुने उनको भनाई छ ।
‘मैले सामाजिक सञ्जालमा जिल्ला प्रशासनको एउटा पत्र देखेको थिए’ अध्यक्ष पंधाकले भने ‘वैदेशिक रोजगार ठगीका उजुरी धेरै आएकाले म्यानपावर व्यवसायीहरुको अनुगमन, नियमन र निगरानी गरिनेछ ।’ उनले थपे ‘म्यानपावर व्यवसायीले आफ्नो व्यवसाय जिल्ला प्रशासनमा दर्ता तथा नविकरण गर्नुपर्नेछ ।’
म्यानपावर व्यवसायीको अनुगमन, नियमन र निगरानी गरिने राम्रो कुरा भएको भन्दै अध्यक्ष पंधाकले भने ‘तर त्योसँगै कन्सल्टेन्सी, व्यूटीपार्लर र ट्राभल्सलाई पनि नियमन गरेर निगरानी र अनुगमन गर्न आवश्यक छ ।’ वैदेशिक रोजगारको नाममा ठगिने युवा धेरै जसो ती संस्थाहरुबाट गएको उनको भनाई छ ।
- म्यानपावर व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको खाँचो :
केही समय अघिसम्म वैदेशिक रोजगारमा जाने कामदारहरु राम्रोसँग काम गर्थे, अहिले एनजिओ, आइएनजीओ साथै अन्य बिचौलियाका कारण फर्केर आउने क्रम वढेको छ’ अध्यक्ष पंधाकले भने ‘विदेश गएको मान्छे उसको घरको समस्या तथा काममा मन नलागेपछि मलाई क्षतिपुर्ति केही चाहिदैन भनेर फर्केर आउछ ।’
नेपाल फर्केपछि बिचौलियाको भनाईमा लागेर सम्बन्धित निकायमा उजुरी गर्ने र त्यसको वास्तविकता नबुझी सम्बन्धित निकायले व्यवसायीहरुलाई पिडक भएको ब्याख्या गरिरहेको अध्यक्ष पंधाकले शब्दपत्रलाई बताएका छन् । अध्यक्ष पंधाकका अनुसार कानुन सवैका लागि बराबर भएपनि म्यानपावर व्यवसायी अझैपनि एकपक्षिय पिडीत बनिरहेका छन् ।
वैदेशिक रोजगार व्यवसायीलाई हेर्ने दृष्ट्रिकोण र गर्ने व्यवहारमा परिवर्तन हुनु पर्ने संघका अध्यक्ष पंधाकले बताएका छन् । पहिलेको तुलनामा केही सुधार भएपनि अझैपनि धेरै समस्या रहेको उनले बताए ।
- संस्थाको उत्तरदायित्व अन्तरगत ‘सामाजिक कार्य’ :
संघको आधिकारिक गठन भएसँगै संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न कार्यहरु गर्दै आएको छ । संघले दैविक प्रकोपमा परेकालाई सहयोग, रक्तदान, राष्ट्रिय आविस्कार केन्द्र पुनः स्थापनाका लागि डा. महावीर पुनको पुस्तक खरिदलगायतका कार्य गर्दै आएको संघका अध्यक्ष पंधाकले जानकारी दिए । उनका अनुसार आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिइनेछ । व्यवसायीहरुले समाज सुधार र सामाजिक कार्यलाई जोडिरहेका छन् ।
- व्यवसायीहरुमा आउने समस्या संघले गर्छ समाधान :
संघको गठनसँगै वैदेशिक रोजगार व्यवसायीहरुमा आउने ९९ प्रतिशत समस्या समानधन हुने गरेको छ । हाल कुनैपनि कामदार र व्यवसायीहरु माथि आइपर्ने समस्या संगठित रुपमा समाधान भइरहेका छन् । वैदेशिक रोजगारी सम्बन्धी मुद्दाहरु स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधिसँगको समन्वय तथा सहकार्यमा समाधान गरिने गरेको छ । वैदेशिक रोजगार व्यवसाय आफैमा चुनौतीको बिषय भएपनि चुनौती निराकरण संगठित रुपमा समाधान गर्न संघको गठन गरिएको अध्यक्ष पंधाकले बताए ।
यसैगरी एनजिओ, आइइएनजिओ साथै बिभिन्न बिचौलियकाले पिडीत कामदारहरुलाई सहयोग गर्ने बहानामा कमिशन लिएर पिडीतलाई थप पिडीत बनाउने गरेको जनगुनासो धेरै आउने गरेको अध्यक्ष पंधाकले जानकारी दिए ।
वैदेशिक रोजगारमा हालको समस्या, चुनौती र समाधानका बिषयमा शब्दपत्र डटकम अनलाइनका सम्पादक तथा प्रकाशक उद्धव पुरीले वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पंधाकसँग गरिएका कुराकानीको भिडियो पनि यसै समाचारमा समावेश गरिएको छ ।


















