झापा ।
नेपाली सनातनी परम्परामा श्रावण शुक्ल पूर्णिमाको दिन आज जनै पूर्णिमा र रक्षा बन्धन मनाइँदै छ । यस पर्वलाई रक्षाबन्धन, श्रावणी, उपाकर्म, ऋषि तर्पणी र यज्ञोपवित संस्कारको पुनःस्मरण पनि भनिन्छ ।
यस दिन व्रतबन्ध भइसकेका पुरुषहरूले विधिवत् अभिमन्त्रित गरिएको ब्रह्मसूत्र अर्थात् जनै फेर्ने गर्दछन् । सबै सनातनीहरूले आजकै दिन अभिमन्त्रित गरिएको रक्षाबन्धन अर्थात् ‘रक्षार्थ बन्धनम्’ अर्थात् अनिष्टबाट बच्नका लागि कवच स्वरुप नाडीमा धागो बाँध्ने गर्ने परम्परा छ । रक्षाबन्धन केवल धागोको बन्धन होइन, भावनात्मक सम्बन्धको बलियो गाँठो पनि हो ।
यो पर्वले धर्म, संस्कृति, आस्था र पारिवारिक सम्बन्धलाई एकै सूत्रमा बाँध्ने काम गरेको पाइन्छ साथै परम्परा र आधुनिकताबीचको सन्तुलन खोज्दै आजको समाजले यस पर्वलाई नयाँ दृष्टिकोणबाट आत्मसात गर्न थालेको छ ।
नेवार समुदायले यो दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनेर मनाउँछन् । यसमा दिदीबहिनीहरूले दाजुभाइलाई क्वाँटी खुवाएर दीर्घायुको कामना गर्ने गर्दछन् ।
यस्ता चाडवाडले उत्साह उमङ्ग थपिदिएको हुन्छ भने आफन्तबीचको सुमधुर सम्बन्ध, सद्भाव र मधुर मिलनको अवसर पनि जुटाइदिएको हुन्छ । नेपालको विविधता झल्काउने यो पर्वले जातीय सहिष्णुता, पारिवारिक प्रेम र सामाजिक जिम्मेवारीको सन्देश पनि दिएको छ भन्न सकिन्छ, जसले समाजमा एकताको सन्देश दिएको देखिन्छ ।


















