झापा । 

वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको श्रमसंसार अनलाइन पोर्टलले सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रण हुने जनाएको छ ।

हाल केही सामाजिक सञ्जालबाट अनधिकृत रूपमा वैदेशिक रोजगारका डिमाण्ड सम्बन्धी विज्ञापन गरेर दुविधा र भ्रम सिर्जना गरेको भन्दै विभागले सरकारी संयत्रबाट प्रकाशित÷प्रसारित सूचना एकिन गरेर मात्र वैदेशिक रोजगारीको आवश्यक प्रक्रिया सुरुवात गर्नु उचित हुने र सरकारी संयन्त्रको प्रयोग गरेर जानकारी लिएको अवस्थामा सम्भावित ठगीबाट बच्न सकिने पनि जनाएको छ ।

विभागका निर्देशक टिकाराम ढकालले वैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाहरूले विदेशस्थित रोजगारदाता कम्पनीबाट प्राप्त मागपत्र नेपाली राजदूतावासबाट प्रमाणीकरण गरी  विभागबाट पूर्व स्वीकृति लिइसकेपछि इजाजत प्राप्त संस्थाको मागपत्रको विवरण श्रम मन्त्रालयले सञ्चालन गरिरहेको श्रम संसार पोर्टलबाट पनि हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको बताएका छन् ।

वैदेशिक रोजगार ऐनको दफा १५ मा पूर्व स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिई नेपाली भाषाको कुनै राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाइटमा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

 म्यानपावर कम्पनीले माग गरेअनुसार विभागले पूर्व स्वीकृति प्रदान गरेपछि त्यसको लिंक स्वचालित रूपमा श्रम मन्त्रालयले सञ्चालन गरेको श्रमसंसार पोर्टल र नेपाल सरकारले सञ्चालन गरेको नागरिक एपमा पनि जोडिने भएकाले वैदेशिक रोजगार व्यवसायीहरूले आफ्नो कार्यालयबाट श्रमसंसार पोर्टलमा मागपत्र स्क्यानिङ गरेर अपलोड गर्नुनपर्नेछ । विभागले स्वीकृत गरेको पूर्व स्वीकृतिका सूचना कामदार छनोटका लागि अनिवार्य रूपमा नेपाली भाषाको राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्ने व्यवस्थामा कुनै फेरबदल गरिएको छैन ।

निर्देशक ढकालले वैदेशिक रोजगार विभागबाट सम्पादन गरिने सेवाप्रवाह आम सर्वसाधारणको जानकारीमा ल्याई जनताको विश्वास जित्ने गरी चुस्त दुरुस्त र थप प्रभावकारी बनाउन श्रमसंसार रोजगार पोर्टल निर्माण गरी श्रमसंसार एप सञ्चालन गरिएको बताएका छन् ।