झापा । 

मलेशियामा भिजिट भिषाका नाममा वैदेशिक रोजगारमा जानेको संख्या वढ्दै गएको छ । पछिल्लो समय मलेसियामा भिजिट भिसाको नाममा प्रवेश गर्ने नेपालीहरूको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको हो । 

वैधानिक प्रक्रियाबाट श्रमिक आउन सक्ने प्रणाली सुस्त रहेको अवस्थामा एजेन्ट र दलाल समूहहरूले सामाजिक सञ्जालमार्फत ‘छोटो समयमै विदेश पुग्ने’ र ‘उत्कृष्ट पारिश्रमिक’को लोभ देखाई नेपाली युवाहरूलाई भिजिट भिसामा मलेशिया ल्याउने क्रम तीव्र बनाएका छन् ।

विशेषगरी तेस्रो मुलुक हुँदै मलेशियामा कामको खोजीमा आउने नेपालीहरू आप्रवासन नीतिको उल्लंघन गर्दै देश प्रवेश गरिरहेका कारण मलेशियाको सुरक्षा र सामाजिक संरचनामा थप चुनौती सिर्जना भइरहेको छ ।

भिजिट भिसाको बहानामा मलेशिया प्रवेश गर्ने नेपालीहरूमध्ये धेरैजसोले कानुनी जटिलता भोगेर स्वदेश फिर्ता भइसकेका छन् भने ठुलो संख्यामा नेपालीहरू रेस्टुरेन्ट तथा घरेलु कामदारको रूपमा कार्यरत अवस्थामा भेटिएका छन् । उनीहरू ‘ओभरस्टे’ गरी अवैध रूपमा बसोबास गरिरहेको पाइएको छ ।

मलेशियाली अध्यागमन विभागले हालैका दिनमा यस प्रकारका विदेशी नागरिकहरूलाई विमानस्थलबाटै फिर्ता गर्ने, विशेष निगरानी अभियान (रेड) सञ्चालन गर्ने र आप्रवासन ऐन उल्लंघन गर्नेहरूलाई जरिमाना, जेल सजाय तथा देशनिकाला (डिपोर्ट) गराउने कार्य तीव्र बनाएको छ ।

मलेसियास्थित नेपाली दूतावासले वैधानिक प्रक्रिया अपनाएर मात्र विदेश जान उपयुक्त र सुरक्षित हुने भन्दै बारम्बार सचेतना अभियान सञ्चालन गरिरहेको छ । दूतावासले नेपाली समुदायका सबै सरोकारवालाहरू सामाजिक संस्था, पत्रकार, बुद्धिजीवी तथा अगुवाहरूलाई मिलेर सचेतना फैलाउन आह्वान गर्दै आएको छ ।