झापा । 

झापाको झापा गाउँपालिकामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि मृत्यु भएको छ भने बाँधेर राख्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गएराति १०ः३० बजेको समयमा झापा गाउँपालिका–१ लसुनाका ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आएर काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी प्राप्त हुना साथ प्रहरी टोली गएर घटनामा संलग्न झापा गाउँपालिका–१ लसुनाका मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू, २१ वर्षीय लखिराम टुडूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ ।

अन्य फरार व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।