झापा ।
प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर राजगड गाउँपालिका–२ का लालु यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो ।
तस्करहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले सात राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ। जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए।
अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाइएको छ ।


















