कनकाई ।
झापाको कनकाई नगरपालिकाका नगर प्रहरीलाई १५ दिने तालिम प्रदान गरिएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका नगर प्रहरीलाई तालिम दिएको हो । नगरमा शान्ति–सुरक्षालाई थप व्यवस्थित गर्न उनीहरुलाई १५ दिने तालिम दिइएको छ । पाँच जना पुरुष र तीन जना महिला गरी आठ जनालाई कनकाई नगरपालिकाले नगर प्रहरीमा नियुक्त गरेको छ ।
आज (सोमवार) नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरमा शान्ति–सुरक्षादेखि नगरमा भएका हरेक विकास निर्माणको काममा निगरानी गरी अघि बढ्न निर्देशन दिए । ‘आफ्नो काममा लगनशील र कर्तव्यनिष्ट भएर लाग्न म निर्देशन दिन्छु’ उनले भने ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुंगानाले नगर प्रहरीले समाजका हरेक विषयमा जानकार भएको बताउँदै अनुशासनभन्दा बाहिर गएर काम नगर्न आग्रह गरे । नगर प्रहरी र नेपाल प्रहरीबीच साझेदारीमा काम हुने बताउँदै उनले नेपाल प्रहरीसँग समन्व्य गर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरपालिकाले ऐन, नियमावली र कार्यविधि निर्माण गरेर नगर प्रहरी नियुक्त गरेको बताएका थिए । उनले नगर प्रहरीले गर्नुपर्ने काम, कर्तव्य र अधिकार बारेमा जानकारी दिनुहुँदै सोही अनुरुप नगर प्रहरीलाई काम गर्न निर्देशन दिए।
कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमको स्वागत लेखा प्रमुख क्षेत्रनाथ शर्मा र सञ्चालन जिन्सी शाखा प्रमुख भोजराज आचार्यले गरेका थिए ।


















