सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले सुरुङ्गा बजार क्षेत्रमा बजार अनुगमन गर्दा ठुलो परिमाणको सुर्तिजन्य पदार्थ बरामद गरेर नष्ट गरेको छ । कनकाई नगरपालिकाले अघिल्लो आर्थिक बर्षबाटै सुर्तिजन्य पदार्थहरु, गुटखा, चुरोट, खैनी लगायातका सुर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध कागजी रुपमा मात्रै भएको भन्दै सर्वत्र आलोचना बढेसगै आइतवारदेखि यस बर्षको पुन बजार अनुगमन थालेको हो ।

 सुरुङ्गा बजार र टप्पु क्षेत्रमा गरिएको बजार अनुगमनबाट ठुलो परिमाणको सुर्तिजन्य पदार्थ, खैनी, चुरोट, गुटखा भोला, रजनिगन्धा पसलबाट फेला पारिएको हो । अनुगमन टोली बजारमा पुग्दा कतिपय पसलमा झुण्डियाएरै भोला लगायातका सुर्तिजन्य पदार्थ विक्रीका लागि राखिएको पाइएको थियो भने कतिपय पसलमा म्याद नाघेका खाद्य सामाग्री अचार लगायातका पदार्थहरु विक्रीका लागि राखिएको थियो । बरामद सबै सामाग्रीहरु नजिक्कै रहेको कनकाई माई नदि किनार कोटीहवनमा नष्ट्र गरिएको र जसजसको पसलबाट ती सामाग्री वरामद गरिएको हो उनीहरुलाई एक–पटकका लागि कागज गरेर छाडिएको कनकाई नगरपालिकाकी उप–प्रमुख आशाशर्मा शिवाकोटीले बताइन् ।

नगरपालिकाले पटक पटक सुचना निकाल्दा समेत गोप्य रुपमा किराना पसलहरुले सुर्तिजन्य पदार्थ विक्री गरिरहेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले कनकाईका पसलहरुमा छापा मारेर ती सुर्तिजन्य पदार्थको बरामद गरिएको नगरपालिकाकी उपप्रमुख शिवाकोटीले जानारी दिइन् ।  

यता कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद न्यौपानेले पहिलोपटकका लागि नगरपालिकाको नियम उल्लघन गर्ने व्यावसायीलाई सचेत गराइएको र अब जरिवाना काटन थालिने बताएका छन् ।  बरामद सुर्तिजन्य पदार्थ र म्याद नाघेका खाद्य सामाग्रीलाई पत्रकार, कर्मचारी, नगर प्रहरी, जनप्रपतिनिधिको, उद्योग वाणिज्य संघ कनकाईको रोहवरमा जलाएर नष्ट्र गरिएको थियो ।

अनुगमनमा कनकाई नगरकी उपप्रमुख शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत न्यौपाने, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुंगाना, कनकाई उद्योग वाणिज्य संघका कार्हवाहक अध्यक्ष जनक कार्की, कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौला, कनकाई नगरपालिका कार्यापालिका सदस्य कृष्णमाया भुजेल, कनकाई नगरपालिका शाखा प्रमुख हरिप्रसाद पौडेल, कनकाई नगरप्रहरी प्रमुख ओमकुमार श्रेष्ठ, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष लीलाराज झापाली, पत्रकार रामप्रसाद निरौला, चन्द्र बस्नेत लगायातको सहभागिता रहेको थियो ।

यता सुरुङ्गा बजारमा अनुगमन सुरु गरेसगै अधिकांश किराना पसलहरुको सटर बन्द गरेर व्यापारीहरु अन्यत्र लागेको पाइएको थियो । चाडपर्व नजिकिदा बजार अनुगमन गर्ने र अन्य समयमा नगरपालिका र सम्बन्धित निकाय कानमा तेल हालेर बन्ने गरेको भनेर चौतर्फी आलोचना बढिरहेको बेला बजार अनुगमनले निरन्तता पाउनुपर्ने आवाज उठ्ने गरेको छ ।