झापा । 

झापासहित पूर्वी नेपालमा शनिवारदेखि लगातार भएको बर्षासँगै नदीमा पानीको सतह वढेको छ । भारी वर्षाका कारण झापाका नदीहरुमा जलसतह वढेको हो ।  नदीहरुमा जलसतह वढेर चेतावनी स्तरको नजिक पुगेको  नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् ।

सभापति ढकालका अनुसार बिर्तामोडमा २४ घण्टामा १२९ मिलिमिटर वर्षा भएको छ । त्यस्तै चन्द्रगढीमा १२०.२० मिलिमिटर वर्षा भएको छ । केचनामा ७३.६० मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १४० मिलिमिटर वर्षा भए त्यसलाई चेतावनीको स्तर मानिन्छ ।

त्यस्तै कनकाई नदीमा जलसतह २.३६६ मि. पुगेको छ । ३.८ मि. पुगेपछि चेतावनी स्तर र ४.३ मि. पुगेपछि खतराको स्तर मानिन्छ । त्यस्तै बिरिङमा ११२.७९४ मि. जलसतह पुगेको छ । 

बाह्रदशी गाउँपालिका भागडुव्वामा नेरेसो झापाको पहलमा NDRRMAवाट प्राप्त साइरन बज्न थालेको र यसले कचनकवलको गाउँपालिकाको पिनडालवारी र बाह्रदशीको तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँने छ भने यस्तै साइरन झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज गाउँपालिकाको कुञ्जीवारीमा पनि रहेको सभापति ढकालले जानकारी दिएका छन् । 

 पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम स्तरको वर्षा मापन गरिएको छ ।

विशेषगरी, पूर्वी नेपालका केही क्षेत्रमा भने भारी वर्षा भएको छ। विभागका अनुसार गत राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा धेरै भारी वर्षा रेकर्ड गरिएको छ।  भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव बढेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।