झापा । 

साउदी अरबको पूर्वी क्षेत्र दम्माममा रियादस्थित नेपाली दूतावासले तीन सय ७१ जना नेपालीलाई राहदानी वितरण गरेको छ । पूर्वी क्षेत्रका नेपाली श्रमिकहरूको सुविधालाई ध्यानमा राखेर गरिएको राहदानी वितरण कार्यक्रम गरिएको थियो । 

उक्त कार्यक्रममा दम्माम, जुबेल, अलहासा, खोबर, कतिफलगायतका स्थानमा कार्यरत नेपालीहरूले नयाँ राहदानी पाएका हुन् । दूतावासका अनुसार जुलाई ७ सम्म राहदानी नवीकरणका लागि आवेदन दिएका श्रमिकहरूलाई वितरण गरिएको हो ।

दूतावासका पूर्वी क्षेत्रका स्थानीय अधिकारी नारायण पासवानले राहदानी वितरण सेवाले श्रमिकहरूका लागि प्रक्रिया झन्झटमुक्त र पहुँचयोग्य बनेको बताएका छन् । 

राहदानी प्राप्त गरेका सेवाग्राही विमल तामाङले गर्मी र भीड कम भएको स्थानमा राहदानी पाउँदा सहज अनुभव भएको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन दूतावाससँग आग्रह गरेका छन्।